६ दिनपछि खुल्यो नौबिसे-मुग्लिङ सडकखण्ड

काठमाण्डौ – पृथ्वी राजमार्ग अन्तर्गत नौबिसे-मुग्लिङ सडकखण्ड ६ दिनपछि खुलेको छ । पहिरोका कारण अवरुद्ध यो सडकखण्डमा गएरातिदेखि दुईतर्फी नै गाडी चल्न थालेकाे इन्जिनियर कृष्णराज अधिकारीले जानकारी दिनुभयो ।

मौवाखोलाको पुल मर्मतको काम सकिएपछि रातिदेखि नै गाडी चल्न थालेका हुन् । मौवाखोलामा रहेको पुलको केही भाग बगेपछि यो सडकखण्ड गएको ५ गतेदेखि बन्द भएकाे थियो ।

यसैगरी पहिरोका कारण अवरुद्ध बेनी-जोमसोम-कोरोला सडकखण्ड १६ दिनसम्म पनि खुल्न सकेको छैन । म्याग्दीको दाना र गलेश्वर क्षेत्रमा पहिरो खस्दा र बेलिब्रिज बगाउँदा यो सडकखण्ड गएको असार २६ गतेदेखि अवरुद्ध भएको हो ।

सडक खुलाउन अझै समय लाग्ने सडक विभागले जनाएको छ । साँफेबगर-मार्तडी सडकखण्ड पनि १६ दिनदेखि बन्द नै छ । बुढीगङ्गा नदीले कटान गरेपछि अवरुद्ध यो सडकखण्ड खुल्न समय लाग्ने सडक विभागले जनाएको छ ।

यो सडकखण्डको अम्कोट, ताप्रीसेरा, घट्टेखोलालगायतका ठाउँमा पहिरोसमेत गएको छ । यस्तै पहिरोका कारण १२ दिनदेखि अवरुद्ध कान्ति लोकपथ पनि अझै सञ्चालनमा आएको छैन । यस्तै एक हप्तादेखि अवरुद्ध बेशी शहर चामे-सडकखण्ड पनि बन्द नै छ ।

घोप्टेखोला, रामबजार र च्याम्चेमा पहिरो गएकाले यो सडकखण्ड अवरुद्ध भएको हो । पहिरोका कारण डुम्रे-बन्दीपुर सडकखण्ड पनि अवरुद्ध छ । गल्छी-त्रिशुली-मैलुङ-स्याुफ्रुबेशी-रसुवागढी सडकखण्ड पनि साउन १ गतेदेखि अवरुद्ध नै छ ।

सडक सञ्चालनमा आउन समय लाग्ने सडक विभागले जनाएको छ । यस्तै काठमाडौको टोखा नगरपालिका-२ मालुङ पन्चेटारमा सडक भासिएपछि नुवाकोट जाने बाटो पनि अवरुद्ध भएको छ । लगातार पानी परेपछि भासिएको सडक मर्मतको काम चलिरहेको प्रहरीले जनाएको छ । बाटो अवरुद्ध भएकाले वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *