६ महिनाको शिशु र १०२ वर्षकी महिलाले जिते कोरोनाविरुद्धको लडाइँ

एजेन्सी। उत्तर इटलीमा नितान्त भिन्न उमेर समूहका दुई व्यक्तिले कोरोनाविरुद्ध लडाइँ जितेर आशाको सञ्चार गराएका छन् । ६ महिने शिशु लियोनार्दो र १०२ वर्षीया इटालिका ग्रोन्दोना दुवै अस्पतालमा लामो समयसम्म उपचार गराएर कोरोनाबाट निको भएका हुन् । लियोनार्दो लोम्बार्डी क्षेत्रको कोर्बेत्ता शहरमा रहेको घर फर्किसकेका छन् । उनले कोभिड–१९ विरुद्ध ५० दिनसम्म संघर्ष गरको थिए । स्थानीय मेयर मार्को बालारिनीले शिशु लियोनार्दो आशाको अनुहार भएको बताउँदै यस क्षेत्रको आत्मविश्वास बढाएकोमा धन्यवाद दिए ।

शिशुकी आमाले स्थानीय सञ्चारमाध्यमलाई बताइन्, ‘म एकदमै चिन्तित थिएँ, विशेषगरी राति । कुनै पनि आमाले यस्तो स्थिति भोग्नु नपरोस् ।’ शिशुलाई ज्वरो आएपछि अनि उसको मुटुको चाल बढेपछि कोरोनाको आशंका गरेको आमाले बताइन् । अनि पतिका सहकर्मीलाई भाइरस लागेको पनि उनले जानकारी दिइन् ।

लियोनार्दोलाई स्वास्थ्यकर्मीहरूले राम्रो उपचार दिएको आमाको भनाइ छ । उता जेनोआमा १०२ वर्षीया इटालिया ग्रोन्दोना २० दिन अस्पताल बसेपछि कोरोनाबाट निको भएर घर फर्किन् । मार्च महिनाको आरम्भमा उनलाई कोरोनाको लक्षण देखिएको थियो र मुटुमा हल्का समस्या आएपछि अस्पताल भर्ना गरिएको थियो । अहिले उनलाई अस्पतालबाट छुट्टी दिइएको छ र भाइरसले उनीसामु आत्मसमर्पण गरेको चिकित्सकहरूले बताएका छन् ।

‘हामीले उनलाई ‘अमर’ नाम दियौं,’ डा भेरा सिकबाल्डीले बताइन् । महाव्याधिको सामना गरिरहेका वृद्धहरूका लागि ग्रोन्दोना आशाको किरण भएको डा सिकबाल्डीको भनाइ छ । इटलीको नेसनल हेल्थ इन्स्टिच्युटले कोरोनाभाइरस लागेर मर्ने मानिसको औसत आयु ७८ रहेको देखाउँछ । यस्तोमा ग्रोन्दोना निको हुनु असाधारण घटना हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *