९ दिनपछि प्रधानमन्‍त्री ओलीलाई पत्‍नी राधिकाले भेटिन्

काठमाडौं : प्रधानमन्त्री केपी ओलीको मिर्गौला प्रत्यारोपण भएको ९ दिनपछि पत्नी राधिका शाक्यले भेटेकी छन्। बिहीबार शिक्षण अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा पुगेर पत्‍नी शाक्यले प्रधानमन्त्रीसँग भेट गरेकी हुन् । उपचारमा संलग्न चिकित्सक बाहेक यसअघि मिर्गौला दाता समीक्षा संग्रौलाले बुधबार भेट गरेकी थिइन्।

दोस्रो भिजिटरका रुपमा राधिकाले प्रधानमन्त्रीसँग भेट गरेको उनको राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिए। ‘प्रधानमन्त्री ज्यूको स्वास्थ्यमा निरन्तर प्रगति’ रिमालले ट्विटरमा लेखेका छन्, ‘दोश्रो भिजिटरको रुपमा प्रथम महिला राधिका शाक्यले भेट्नु भयो।’ शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रेमकृष्णा खड्गाका अनुसार प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

‘सबै स्वास्थ्य सुचक सामान्य छन्’, उनले भने, ‘मिडियामा सार्वजनिक भएजस्तो प्रधानमन्त्रीलाई केही संक्रमण छैन।’ मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण नियमित रुटिनमा भएको उनको भनाइ छ। फागुन १९ गते अस्पताल भर्ना भएका प्रधान मन्त्री ओलीको २१ गते मिर्गौला प्रत्यारोपण भएको थियो। मिर्गौला दाता समीक्षाको बुधबार डिस्चार्ज भए पनि प्रधानमन्त्रीको अस्पताल बसाइ भने लम्बिएको छ।

पारिवारिक स्रोतले केही दिन अस्पतालमै राख्न आग्रह गरेपछि उनको अस्पताल बसाइ लम्बिएको हो। निजी चिकित्सक प्रा.डा. दिव्या सिंह शाहका अनुसार प्रधानमन्त्रीको सरकारी निवास बालुवटारमै प्रधान मन्त्रीको स्वास्थ्य उपचारका लागि व्यवस्थापकीय तयारी पूरा भएपछि मात्र डिस्चार्ज हुने बताएकी छन्। पहिलो पटक मिर्गौला प्रत्यारोपणा भएको १२ वर्षपछि प्रधानमन्त्री ओलीको शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण भएको हो। २०६४ सालमा भारतमा मिर्गौला प्रत्यारोपण गराएका ओलीले दोस्रो पटक स्वदेशमै मिर्गौला प्रत्या रोपण गराएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *