माधवकुमार नेपाललाई पनि अध्यक्ष बनाउने ओली पक्षको प्रस्ताव

काठमाडौं । अध्यादेश प्रकरणपछि प्रधानमन्त्री केपी शर्मा ओलीका अत्यन्त विश्वास पात्र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले बुटवलबाट काठमाडौं उक्लेर सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखे । ‘पार्टी एकतालाई जोगाउन विश्वास र सहकार्यको वातावरण तयार गरौं, आपसी कटाक्ष र टिप्पणी बन्द गराैं, मिले जितिन्छ, झैझगडाले सकिन्छ, गम्भीर बनौं ।’

एक हप्ताअघि सोमबार राजनीतिक दल र संवैधानिक परिषद् कार्यविधि अध्यादेश जारी भएसँगै नेकपाको सचिवालयमा अल्पमतमा परेपछि दुवै अध्यादेश फिर्ता लिन बाध्य भएका प्रधानमन्त्री ओलीको सम्मुखको संकट टार्न राजधानी उक्लेका पोखरेल अहिले स्टाटस लेखेर मात्रै चुपचाप भने बसेका छैनन् ।

पार्टीमा नेताहरु बीच मिलापत्र गराउन दौडधुप गरिरहेका पोखरेलले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमसँग भेटवार्ता गरिसकेको खुलेको छ । वरिष्ठ नेता नेपाल तत्कालिन एमालेको शक्तिशाली महासचिव र उपाध्यक्ष गौतम संगठन विभागको शक्तिशाली प्रमुख हुँदा सानिध्यमा रहेर काम गरेका पोखरेलले पार्टी विवाद सल्ट्याउन अब नेकपामा ३ अध्यक्ष रहने गरी माधव नेपाललाई पनि अध्यक्ष हुन प्रस्ताव गरेका छन् ।

दुई वर्षअघि एक भएका नेकपा भित्रका पूर्व माओवादी पक्षधरले प्रधानमन्त्रीबाट केपी ओलीलाई हटाएर नेता नेपाललाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरी त्यहीअनुरुप घनिभूत तयारी शुरु गरेपछि रक्षात्मक बनेको ओली खेमाले अघि सारेको प्रस्ताव भित्रभित्रै पाकिरहेको छ । माधव नेपाललाई प्रधानमन्त्रीको कुर्चीमा राखेर आफू शक्तिशाली अध्यक्ष बन्ने प्रचण्डको तयारी चिर्न ओली पक्षले पार्टीमा ‘पावर सेयसरङि’ को प्रस्ताव अघि बढाएको हो । स्मरणीय छ, माधव नेपाल पक्षधर नेताहरुले पनि पार्टीलाई सहज ढंगले अगाडि बढाउन ‘पावर सेयरिङ’ हुनुपर्नेमा जोड दिँदै आएका छन् ।

पार्टीमा उत्पन्न उथलपुथलपछि ओली सत्ता जोगाउन लागिपरेका एक नेताका अनुसार बालुवाटारको बसाइलाई निरन्तरता दिनका लागि ओलीसँग अब जसरी भएपनि माधव नेपालसँग मिल्नुको विकल्प नै छैन् । नेता नेपालसँग मिलेर अर्का अध्यक्ष प्रचण्डले आफूलाई कर्नर हुत्याउने जाल बुनिरहेको संकेत पाएका ओलीले आफूले १५ वर्षसम्म नेता मानेका नेपालसँगै मिलापत्र गर्न खोजेका हुन् । त्यसका लागि अरु पदमा समेत लेनादेना गर्ने, पार्टी चलाउन नेपाललाई दिने र आफूले ५ वर्षे बालुवाटारको यात्रा जारी राख्ने ओली योजना छ ।

उल्लेखित प्रस्तावले मुर्तरुप पाएमा मुलुकको कुनै प्रदेशमा एक मुख्यमन्त्री पदमासमेत नयाँ अनुहार प्रकट हुनेछ । यो प्रस्ताव लागू हुँदा नेकपामा तीन अध्यक्ष रहनेछन् । प्रधानमन्त्री ओलीले पछिल्लो राजनीति घटनाक्रमका बारेमा आइतबार (हिजो) साँझ राष्ट्रपति विद्यादेवी भण्डारीसँग लामो भेटवार्ता गरेका छन् । राष्ट्रपति हुनुअघि एकै समूहमा रहेका राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच करिब डेढ घण्टा चलेको वार्तामा पनि गम्भीर छलफल भएको स्रोतले बताएको छ । प्रचण्ड निकटस्थ केही नेताहरुले कांग्रेस नेता कृष्ण सिटौलालगायतका नेतासँग पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गरिरहेको सूचना बालुवाटारमा प्राप्त भएपछि दुर्घटनामा पर्नुबाट जोगिन ओलीले नेपालसँग मिलापत्र गर्न आफ्ना दुतहरु खटाएको स्रोत बताउँछ ।

अध्यादेश प्रकरणपछि रक्षात्मक बनेका ओलीलाई यही बेलामा पदमुक्त गर्नसके पार्टी आफ्नो हातमा आउने प्रचण्ड पक्षधरको बुझाइ छ । त्यही कारण सरकार र पार्टीबीच सामञ्जस्यता कायम गरेर अगाडी बढाउन ओली पक्षले नयाँ प्रस्ताव गरेको हो । नेपाललाई समेत अध्यक्ष बनाउँदा पूर्व स्कुलिङका कारणले सरकारलाई काम गर्न सहज हुने पनि मिलापत्र गराउने अभियानमा सक्रिय भइरहेकाहरुको दावी छ । अहिले नेकपामा पार्टी र सरकार दुवै पद्दतिमा चल्न नसकेको आवाज उठिरहेको छ । सरकार स्वायत्त हुने नाममा स्वेच्छाचारी भइरहेको असन्तुष्टहरुको आवाज छ । यस्तो अवस्थामा नेता नेपाललाई अध्यक्ष बनाउँदा तानातानमा परेको डुंगा किनारामा निकाल्न सहज हुने र पार्टी पनि जोगिने सत्तापक्षको बुझाई छ ।

नेकपामा अहिले मुख्य माग पार्टी विधि र पद्दतिबाट नचलेको आवाज जोडदार उठिरहेको छ । लामोसमय देखि भइरहेका सरकार र पार्टीका विभिन्न पद बाँडफाँडबाट मात्रै कार्यकर्ता सन्तुष्ट हुन सकिरहेको देखिन्न । तर पछिल्लो प्रस्तावले पनि कार्यकर्तामा मात्रै होइन, आम जनतामा पनि नेकपा पदलोलुप नेताहरूको झुण्ड रहेछ भन्ने सन्देश नजाला भन्न सकिन्न ।

  • No items

Leave a Reply

Your email address will not be published. Required fields are marked *