नेकपा अन्तरविवाद: ओलीलाई एक पद छाड्न दबाब

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद समाधानका लागि नेताहरुले सक्रियता बढाए पनि सहमतिको उपाय निस्कन सकेको छैन। पार्टी अध्यक्ष केपी ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, नेता झलनाथ खनाल र माधवकुमार नेपालले भेटघाट तीव्र बनाएका छन्।

आफू नेतृत्वको सरकार अप्ठ्यारोमा परेपछि प्रधानमन्त्री ओलीले नेपाल समूहलाई आफ्नो पक्षमा पार्न निकटकालाई सक्रिय बनाए पनि यो प्रयासले सोमबार मूर्तरुप लिन सकेन। पार्टीभित्र पेलाइमा परेको नेपाल समूहले सहमतिका लागि ओली पक्षसँग ठोस प्रस्ताव लिएर आउन आग्रह गरेको छ।

ओली पक्षले मन्त्रिपरिषद् पुनर्गठन गर्ने र त्यसमा केही नेतालाई व्यवस्थापन गर्ने प्रस्ताव अघि बढाएको छ। नेपाल समूहका नेताहरु भने एक व्यक्ति एक जिम्मेवारीको विषय कार्यान्वयन गर्ने र सरकार सञ्चालन पूर्णतः पार्टी नियन्त्रण हुनुपर्ने पक्षमा देखिएका छन्। ओलीले अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद छाड्नुपर्ने अडान उनीहरुको छ। यसमा ओली पक्ष सहमत नहुँदा सोमबार भएको दुईपक्षीय बैठक सहमतिमा पुग्न सकेन। उनीहरुबीच सचिवालय बैठक र स्थायी समिति बैठकबाट सहमति खोज्ने समझदारी भने बनेको छ।

बैठकमा सहभागी स्थायी समिति सदस्य भीम रावलका अनुसार पार्टीभित्र उत्पन्न पछिल्लो अवस्था र विधि मिचेर गरिएका निर्णयबारे छलफल भएको थियो। ‘पछिल्लो समय सरकारले गरेका निर्णयका कारण पार्टीको छवि धमिलिँदै गएको र गर्न नहुने कार्यलाई सरकारले प्राथमिकतामा राखेर पार्टी एकता कमजोर बनाउने काम भएको कुरा उठ्यो’, उनले भने। उनका अनुसार ओली समूहका नेताहरुले गल्ती कमजोरी खोज्न र मिल्न प्रस्ताव राखेका थिए।

‘हामीले पनि गल्ती कमजोरी हटाउने, पार्टीलाई एकताबद्ध गर्ने उद्देश्य राखेर नै स्थायी समिति बैठक मागेको हो, जेजे गर्नुपर्छ बैठकमै गरौं भन्यौं,’ रावलले नागरिकसँग भने।

छलफलमा नेपाल समूहले सरकार र पार्टीका काममा पूर्वाग्रहबिना समीक्षा गर्ने, पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै भएका कारण समस्या समाधानको बाटो ओलीबाटै आउनुपर्ने धारणा राखेको स्थायी कमिटी सदस्य रघुजी पन्तले बताए।

बैठकमा सहभागी एक नेताका अनुसार ओली पक्षले खासै प्रस्ताव नल्याएपछि नेताहरुबीच मन माझमाझमात्रै भयो। ओली पक्षका शंकर पोखरेलले पार्टीभित्र उत्पन्न समस्याबारे गम्भीर ढंगले छलफल गर्न प्रस्ताव राखेका थिए। नेपाल पक्षले ‘गम्भीर ढंगले किन छलफल गर्नुपर्ने अवस्था आयो ? पार्टीका तर्फबाट सरकारमा सहभागी भएकाहरुले कमजोरी गर्दै जाने भ्रष्टाचारलगायतका विषयमा बालुवाटारबाटै संरक्षण हुने हो भने छलफल गर्नुको कुनै औचित्य छैन’ भन्ने जवाफ दिएको थियो। बहुमतको सरकार हुँदाहुँदै अर्को पार्टी फुटाउने अध्यादेश किन ल्याउनुपरेको भन्ने प्रश्न पनि नेपाल पक्षले उठाएको थियो।

‘भ्रष्टाचारी भनेर मिडियामा नाम आएका व्यक्तिलाई प्रधानमन्त्रीले बचाउ गर्नुपर्ने आवश्यकता किन आयो, पार्टीलाई एकढिक्का बनाउनुको साटो सधैं पेल्ने र पार्टीको विधि पद्धतिप्रति ओलीको बलमिच्याइँ किन भन्ने जस्ता प्रश्न उठे’, बैठकमा सहभागी एक नेताले भने। ‘ओली समूहबाट एक व्यक्ति एक जिम्मेवारीको विषयलाई कसरी टुंग्याउने भन्ने बारेमा ठोस प्रस्ताव नआएपछि बैठक सकिएको छ’, बैठकमा सहभागी एक नेताले भने।

छलफलमा ओलीका तर्फबाट ईश्वर पोखरेल, विष्णु पौडेल, शंकर पोखरेल र प्रदीप ज्ञवाली तथा नेपालका तर्फबाट सुरेन्द्र पाण्डे, भीम रावल, रघुजी पन्त र गोकर्ण बिष्ट सहभागी थिए।

यसअघि आइतबार नेपालनिकटका स्थायी समितिका सदस्यहरुको भेलाले पटकपटक धोका भएका कारण ओली पार्टी सञ्चालनको विधि र प्रक्रियासहित प्याकेज सहमतिका लागि तयार नभए सरकारलाई समर्थन गरिरहनुको औचित्य नभएको निष्कर्ष निकालेका थिए।

नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल र नेता नेपालनिकट दोस्रो तहका नेताहरू वर्षमान पुन, जनार्दन शर्मा, सुरेन्द्र पाण्डे, भीम रावल, गोकर्ण विष्टलगायतले सरकार र पार्टीमा ओलीको विकल्प खोज्ने विषयमा केन्द्रित रहेर छलफल गरिरहेका छन्।

नेपाल समूहका नेताहरुले एक व्यक्ति एक जिम्मेवारीको नीतिअनुसार माथिदेखि तलैसम्म जिम्मेवारी हेरफेरका लागि प्याकेजमै सहमतिका लागि तयार भए मात्र सहमति गर्न दबाब दिएका छन्। ओलीले प्रधानमन्त्री र अध्यक्षमध्ये एक पद रोजेर नेपाललाई छाड्नुपर्ने, दोहोरो जिम्मेवारीमा रहेका नेताहरूलाई हटाएर अवसरबाट वञ्चित नेताहरूलाई जिम्मेवारी दिनुपर्नेलगायतका माग अघि सारेका छन्।

सोमबारको बैठकमा नेपाल समूहसँग सहमति नभएपछि ओली पक्षधर सांसद बालुवाटारमा भेला भएका थिए। उनीहरुले पार्टीभित्रको समस्या तत्काल समाधान गरेर जान ओलीलाई सुझाव दिएका छन्। आजको नागरिक दैनिकमा यो खबर छ ।

  • No items

Leave a Reply

Your email address will not be published. Required fields are marked *