भारतीय क्‍वारेन्टाइनमा बसेका नेपालीलाई बिहीबार स्वदेश ल्याइने

बैतडी : एक महिनाभन्दा बढी समय भारतीय क्‍वारेन्टाइनमा बसेका नेपालीहरुलाई बिहीबार स्वदेश ल्याइने भएको छ। भारतको पिथौरागढ जिल्लाका विभिन्न स्थानका क्‍वारेन्टाइनमा बसेका नेपाली नागरिकहरुलाई बिहीबार स्वदेश ल्याउने तयारी भएको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए। भारतको पिथौरागढ जिल्ला, नेपालको बैतडी र दार्चुला जिल्लाका अधिकारीहरुबीच भएको सहमति अनुसार मजदुरहरुलाई स्वदेश ल्याउने तयारी भएको पौडेलले बताए।

उनले भने ‘गृहमन्त्रालयबाट पनि मौखिक निर्देशन प्राप्त भएको छ। भारतीय प्रशासन र हामीबीच पनि अनौपचारिक सहमति भएर मजदुरहरुलाई स्वदेश फर्काउँछौं। बिहीबार एकदिनका लागि मात्रै सीमा मजदुहरुलाई स्वदेश फर्काउन खुला हुन्छ।’ उनीहरुलाई सम्बन्धित पालिकाको क्‍वारेन्टाइनमा बस्ने गरेर स्वदेश फर्काउन लागेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए। १४ दिन क्‍वारेन्टाइनमा बसेपछि उनीहरुको र्‍यापिड टेस्ट गरेर रिपोट नेगेटिभ आएमा घर पठाइने पौडेलको भनाई छ। भारतीय सीमामा बैतडीका मात्रै ९ सय मजदुर रहेका छन्।

मजदुरहरुलाई स्वदेश ल्याउँदा सीमामा ज्वरो मापनलगायतका परीक्षणहरु गरिने र त्यसपछि उनीहरुलाई क्‍वारेन्टाइनमा बस्नका लागि पठाइने बताइएको छ। सीमाबाट फर्केका नागरिकहरुका लागि प्रत्येक पालिकामा एक सय बेडका क्‍वारेन्टाइन निर्माण भइसकेका छन्। सीमाबाट फर्केका नागरिकलाई अनिवार्य १४ दिन क्‍वारेन्टाइनमा राख्नै पर्ने र १४ दिनमा उनीहरुको आरडीटी गरेर मात्रै घर पठाइने स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए।

एक महिनाभन्दा बढी भारतीय क्‍वारेन्टाइनमा बसेकाहरुलाई स्वदेश फर्काउनका लागि मजदुरहरुले बारम्बार आग्रह गरिरहेका थिए। सरकारले स्वदेश फर्काउने निर्णय गरेपछि मजदुरहरु खुसी भएका छन्। आफूहरुलाई विदेशी भूमीमा धेरै समस्या भएको र स्वदेश फर्काउने निर्णयले खुसी तुल्याएको पुर्चौंडी नगरपालिका ३ का लोकेन्द्र पार्कीले बताए। उनले भने ‘हामी यो खबर अत्यन्त खुसी भएका छौं। हामीले सीमामा बसेको एक महिना भन्दा बढी भईसकेको छ। ढिलै भएपनि स्वदेश फर्कन पाउने भएका छौं। यसैमा खुसी भएका छौं।’ सीमामा समस्या भोगीरहेका नेपाली मजदुरका बिषयमा अन्नपूर्ण पोष्ट डटकमले बेला बेलामा समाचार प्रकाशन गर्दै आएको थियो।

  • No items

Leave a Reply

Your email address will not be published. Required fields are marked *