ताप्लेजुङका आगलागी पीडितको पुनःस्थापना गर्न सरकार साथमा छ : मन्त्री भट्टराई

ताप्लेजुङ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले ताप्लेजुङका आगलागी प्रभावित परिवारलाई विचलित नहुन आग्रह गर्नुभएको छ। आइतबार बिहान आगलागी क्षेत्रको निरीक्षणपछि मन्त्री भट्टराईले आगलागी प्रभावित परिवारको पुनःस्थापनाका लागि सरकार साथमै रहेको भन्दै विचलित नहुन आग्रह गर्नुभएको हो । आगलागीले क्षति पुगेकामा दुःख व्यक्त गर्दै मन्त्री भट्टराईले तीनै तहका सरकार र स्थानीय समुदायको सहयोगमा पुनःस्थापना गर्ने आश्वासन दिनुभयो ।

‘तपाईँहरुलाई पुनःस्थापनामा केन्द्र, प्रदेश र पालिकाका साथै स्थानीय समुदाय सबैको साथ सहयोग मिल्नेछ’, उहाँले भन्नुभयो । ताप्लेजुङ भौगोलिक हिसाबले बाढी पहिरो, आगलागी जस्ता विपद्का घटनाको उच्च जोखिममा रहेकाले सतर्क हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

मन्त्री भट्टराईले पछिल्लो पटक सरकारले विपद् व्यवस्थापनसम्बन्धी लिएका नीति तथा प्रयासले यहाँको मात्रै नभई देशभरकै यस्ता जोखिमका समस्या निराकरण हुनेमा विश्वाससमेत व्यक्त गर्नुभयो । यता छलफलका क्रममा आगलागी पीडितको प्रतिनिधित्व गर्दै आगलागी पीडित यीगेन्द्र गुरुङले सरकारलाई बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण मिनाहा गरिदिन आग्रह गर्नुभयो ।

यसैबीच विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले ताप्लेजुङमा आगलागीका घटना दोहोरिरहनु दुःखद भएको भन्दै यस प्रकारका घटनाको न्यूनीकरणमा सबैले ध्यान दिनुपर्ने बताउनुभयो । आफूहरुको रेकर्डमा समेत यो जिल्ला आगलागीको घटना हुनेमा अग्रस्थानमा रहेको बताउनुभयो ।

छलफलका क्रममा प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले आगलागीबाट भएको क्षतिको विवरण पेश गर्दै स्थानीयस्तरबाट जुट्ने राहतका लागि प्रयास भइरहेको बताउनुभएको थियो । शुक्रबार भएको आगलागीले यहाँका साना ठूला गरी १० घरमा क्षति पुगेको थियो भने २९ परिवार विस्थापित बनेका छन् । यस्तै सात करोड रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ ।

  • No items

Leave a Reply

Your email address will not be published. Required fields are marked *