पूर्वराज्यमन्त्री एवं सांसद डा. सुरेन्द्र यादव अपहरणको आरोप लागेका नेकपा सांसद महेश बस्नेत र किसान श्रेष्ठ तथा पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल पनि उजुरी बोकेर मानव अधिकार आयोग पुगेका छन्।
आफूहरूले सांसद यादवको अपहरण नगरेको भन्दै उनीहरूले आयोगमा उजुरी दिएका छन्। सोमबार आयोग कार्यालय पुगेका उनीहरूले आफूहरू निर्दोष रहेको भन्दै उजुरी दर्ता गराएका हुन्।
यसअघि १८ वैशाखमा यादवले सांसदद्वय बस्नेत र श्रेष्ठ तथा पूर्वआइजिपी खनालले आफूलाई अपहरण गरेको भन्दै आयोगमा उजुरी दिएका थिए। यादवको उजुरीको चार दिनपछि आयोग पुगेका आरोपित सांसद र पूर्वआइजिपीले अर्को निवेदन दिएका हुन्।
महोत्तरीस्थित घरमै रहेका यादवलाई नेकपा सांसद बस्नेत, श्रेष्ठ र पूर्वआइजिपी खनालले १० वैशाखमा काठमाडौं ल्याएका थिए। यो विषय ठूलो राजनीतिक मुद्दा बनिसकेको छ। विपक्षी दलले समेत छानबिन र दोषीमाथि कारबाहीको माग गरेको छ।