स्थायी समिति बैठक दुई/चार दिन सार्न ओली-प्रचण्ड सहमत

बिहीबारका लागि डाकिएको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको बहुप्रतिक्षित स्थायी समिति बैठक नबस्ने भएको छ।नेकपाका महासचिव बिष्णु पौडेलले भोलिका लागि बोलाइएको बैठक केही समयपछि सार्न दुई अध्यक्ष सहमत भएको बताए। प्रधानमन्त्रीनिकट एक सचिवालय सदस्यले सेतोपाटीलाई दिएको जानकारीअनुसार प्रधानमन्त्री ओलीले भोलि बैठक राख्न अनिच्छुक देखिएकाले बैठक सरेको हो।

भोलिको बैठकमा पेस गर्ने प्रस्तावबारे छलफल गर्न बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा सचिवालय बैठक बसेको थियो।उक्त बैठकमा प्रधानमन्त्री ओलीले बैठकमा पेस गर्ने प्रस्ताव तयार पार्न अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव विष्णु पौडेललाई जिम्मेवारी दिइएको बताएका थिए।

‘तर उहाँहरूले पनि प्रस्ताव तयार पारिसक्नु भएको छैन। सरकार अहिले कोरोनाभाइरसको संक्रमणविरूद्ध केन्द्रीत छ। संसदमा नीति तथा कार्यक्रम र बजेट पनि पेस गर्ने बेला आएको छ,’ प्रधानमन्त्री ओलीलाई उद्धृत गर्दै ती सचिवालय सदस्यले भने,‘मलाई दौडधुप पनि छ। जिउ दुखेको छ, आराम गर्छु। तपाईंहरू बस्दै गर्नुस्।’प्रधानमन्त्री ओली यति भनेर बैठकबाट बाहिरिएपछि नफर्किएको उनले जानकारी दिए।

‘त्यसपछि हामी प्रचण्डको अध्यक्षतामा बैठक बस्यौं,’ उनले भने।त्यसो भए भोलि स्थायी समिति बैठक बस्दैन भन्ने सेतोपाटीको प्रश्नमा ती सचिवालय सदस्यले भने,‘प्रधानमन्त्रीनै एजेन्डा र प्रस्तावबिना बैठक नबस्ने भनेकाले भोलिचाहिँ बैठक बस्दैन।’बैठकमा सहभागी बरिष्ठ नेता झलनाथ खनालका अनुसार प्रधानमन्त्री हिँडेपछि बाँकी ८ जनाले सचिवालय बैठक डाक्ने/नडाक्ने, कस्तो प्रस्ताव पेस गर्ने भन्नेबारे दुई अध्यक्षले निर्णय गर्नुपर्ने सुझाव दिएका थिए।

‘प्रधानमन्त्री बैठकमा आउनेबित्तिकै खासै नबोलीकन अप्ठेरो भयो आराम गर्न जान्छु भनेर हिँड्नुभयो,’ खनालले भने,‘लामो समय उहाँ नआएपछि हामी पनि हिँड्यौं।’सचिवालय बैठक सकिएपछि ओली र प्रचण्डबीच बालुवाटारमा एक्लाएक्लै भेट भएको थियो।उनीहरू दुबै जना बैठक दुई-चार दिन सार्न सहमत भएका छन्।

यसअघि शनिबारको सचिवालय बैठकमा प्रधानमन्त्रीले आत्मआलोचना गर्दै सबै जना मिलेर अघि बढ्ने बताएका थिए। प्रधानमन्त्रीपछि अर्का अध्यक्ष पुष्पकमल दाहालले पनि मिलेर अघि बढ्नुको विकल्प नभएकोमा जोड दिएका थिए।

भोलि बस्ने स्थायी कमिटी बैठकका लागि दुबै अध्यक्षले प्रस्ताव तयार गर्ने भनिएको थियो। तर प्रस्ताव तयार गर्ने विषयमा दुई अध्यक्षबीच सहमति हुन सकेको छैन।

शनिबार भएका सहमतिबाट प्रधानमन्त्री पछि हटेको आरोप प्रचण्ड र माधवकुमार नेपाल खेमाले लगाएका छन्। पहिला सहमति भएअनुसार कार्यकारी अध्यक्षका रूपमा प्रचण्डको भूमिकालाई थप प्रष्ट्याउने गरी स्थायी समितिमा प्रस्ताव लैजाने, मन्त्रिमण्डल पुनर्गठन गर्ने र केही मुख्यमन्त्रीहरू फेरबदल गर्ने सहमतिबाट प्रधानमन्त्री ओली पछि हटेको प्रचण्ड-नेपाल खेमाको आरोप छ।

वैशाख १७ गतेको बैठकमा उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव राखेका प्रधानमन्त्री ओलीले २० गतेको सचिवालय बैठकमा उक्त प्रस्तावबारे केही पनि उल्लेख नगरेपछि पछिल्ला दिनमा गौतम पनि आफ्नो हुर्मत लिएको भन्दै रूष्ट बनेका उनीनिकट नेताहरूले बताएका छन्।

आजको सचिवालय बैठकमा उपाध्यक्ष गौतमले प्रधानमन्त्री ओलीलाई साथ दिन्छन् कि दिन्नन् भन्ने चासोका साथ हेरिएको छ।बुधबार बिहानमात्र गौतम प्रचण्डलाई भेट्न उनको निवास खुमलटार पुगेका थिए। उनले आजै अर्का नेता माधवकुमार नेपाललाई फोन गरेको स्रोतको दाबी छ।

  • No items

Leave a Reply

Your email address will not be published. Required fields are marked *