दिल्लीमा बैतडीका युवक कोरोना संक्रमित

धनगढी : भारतको राजधानी दिल्लीमा घर आउन नपाएका एकजना नेपाली युवकमा कोरोनाको संक्रमण देखिएको छ । राजधानी नयाँदिल्लीको आजादपुर मण्डीमा जेसीए ट्रेडर्स नामक फलफुल कम्पनीमा कार्यरत बैतडीको दोगडा केदार गाउँपालिका ९ चडेपानी (बगौरा) घर भएका २३ वर्षीय रमेश दत्त भट्टलाई कोरोना संक्रमण देखिएको हो ।

केही दिन अघिदेखि मालिकले उनलाई काममा बोलाएका थिए । भारतमा लकडाउन चलिरहेका बेला पनि उनलाई बैंक जान र अरु काममा मालिकले खटाएका थिए । उनलाई रुघाखोकी र श्वासप्रश्वासमा अप्ठेरो भएपछि चार दिनअघि उनको थ्रोट स्वाब संकलन गरिएको थियो ।

बिहीबार उनको थ्रोट स्वाबको नमूना पोजिटिभ आएको उनीसँगै दिल्लीमा रहेका दत्तराज भट्टले भने । रमेशलाई बिहीबार राती नै दिल्लीको राम मनोहर लोहिया अस्पतालमा आइसोलेसन वार्डमा भर्ना गरिएको छ ।

यद्यपी उनको स्वास्थ्य अवस्था राम्रो रहेको छ । भारतको राजधानी दिल्लीको आजादपुर मण्डीमा मात्रै दोगडा केदार गाउपालिकाका ३६ जना भन्दा बढी कामदार रोकिएका छन्।उनीहरुले आर्थिक अभाव भएको बताएका छन्।

भारतले एक राज्यबाट अर्को राज्यमा रहेका मजदुरलाई समेत बोक्न थालेका बेला, नेपालले भारतमा रहेका नेपालीलाई छिटो घर बोलाउनुपर्ने उनीहरुको माग छ।’अहिलेसम्म कोठामै बसिरहेका छौं, अब खाद्यान्न किन्ने रकम पनि सकिन थाल्यो, यस्तै गरी काममा गयो भने कोरोनाको डर छ,’ सोही कम्पनीमा कार्यरत अर्का नेपाली जयराज भट्टले भने ।

सीमा बन्द भएकाले आफूहरु त्यहाँ बसिरहेको उनीहरुले बताए। आफूहरुको समस्याका बारेमा भारतीय दूतावासमा पनि खबर गरेको तर दूतावासबाट पनि सोचे अनुसारको सहयोग नभएको उनीहरुले बताए ।

  • No items

Leave a Reply

Your email address will not be published. Required fields are marked *