सगरमाथा चीनमा पर्ने चिनियाँ सञ्चार माध्यमकाे दाबी

काठमाडौं, २८ बैशाख । नेपाल एक सर्वभौम मुलुक हो । जसको सयौं वर्षदेखिको आफ्नै इतिहास र पहिचान छन् । कुनै समय नेपाली विभिन्न राज्यमा खण्डित थिए । तर तत्कालीन राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेर सिंगो नेपालको रुप दिए । नेपालका दुई छिमेकी विशाल दक्षिणमा भारत र उत्तरमा चीन छन् ।

यी दुवै मुलुकको बीचमा नेपाल अवस्थित हुँदा पृथ्वीनारायण शाहले दुइ ढुंगाबीचको तरुलको रुपमा नेपाललाई उपनाम समेत दिएका थिए । नेपालका छिमेकी मुलुक चीन रभारत दुवै शक्तिसम्पन्न मुलुक हुन् । नेपाल र भारतबीच खुला सिमाना रहेकै कारण भारतसँग नेपालको प्रत्यक्ष सम्बन्ध छ । भारतीय पक्षले नेपालको सीमामा पर्ने विभिन्न जिल्ला नेपाली भूमिमाथि समेत अतिक्रमण गरिरहेको छ । र, सीमा विवाद बल्झिरहेकाे छ ।

पछिल्लो समय नेपालको लिपूलेक तथा लिम्पियाधुरा पनि आफ्नो सरकारी नक्सामा भारतले छापेपछि दुइ देशबीच कुटनीतिक पहल गर्ने भनियाे । तर ठोस रुपमा कुनै कार्यान्वायन हुन सकेन । यस बिषयमा दुई मुलुकबीच कुनै ठोस सहमति नहुँदै भारतले एकतर्फी रुपमा फेरि नेपाली भूमि लिपूलेकमा सडक निर्माण गरेको छ । उसले मानसरोबर जाने बाटो भन्दै दार्चुलाको व्यास गाउँपालिका–१ को गुन्जीदेखि लिपुलेकसम्म करिब २२ किलोमिटर लामो सडक निर्माण गरेको छ ।

यस विषयमा नेपालमा विरोध र बहस भइरहेका बेला चीनको एक सञ्चार माध्यमले नेपालमा पर्ने विश्वकै सर्वाेच्च शिखर सगरमाथा चीनको भूभागमा पर्ने भनेर उल्लेख गरेको छ । चीनको लोकप्रिय टेलिभिजन ‘चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सीजीटीएन)’ ले आफ्नो आधिकारिक ट्वीटरमा सर्वोच्च शिखर सगरमाथा चीनको तिब्बतमा पर्ने उल्लेख गरेको हो ।

ट्वीटरमा भनिएको छ, ‘सर्वोच्च शिखर सगरमाथा चीनको तिब्बत स्वायत्त क्षेत्रमा पर्ने विश्वको सर्वोच्च शिखर हो।’ उसले ट्वीटरमा सगरमाथाकाे उत्तरी भागका केही तस्बिरहरु समेत समावेश गरेको छ । तर सीजीटीएनले गलत समाचार प्रेषण गरेको भन्दै चीनभित्रै सामाजिक सञ्जालमा विरोध भइरहेको छ । सगरमाथा नेपाली भूमिभित्रै रहेकाेमा चीनियाँहरू पनि जानकार छन् ।

चीनको कतिपय विज्ञहरुले ऐतिहासिक तथ्य हेर्न र सच्याउन सुझाव दिइरहेका छन् । चीन र नेपालको सीमा क्षेत्र पर्ने सर्वोच शिखर सगरमाथाले उत्तरी मोहडा तिब्बती क्षेत्रतर्फ पर्छ । तर सगरमाथकाे वास्तविक भूभाग भने नेपालतर्फै रहेकाे छ । उक्त उत्तरी माेहडाबाट चीनले सगरमाथाको उचाइ नाप्ने काेसिस गरिरहेकाे समेत चिनियाँ संचारमाध्यमहरूले उल्लेख गरेका छन् ।

चीनले नै सन् १९७५ मा सगरमाथाको उचाइ ८ हजार ८४८.१३ मिटर भएको निस्कर्ष निकालेकाे थियाे । साेही नापलाई अहिलेसम्म सगरमाथाकाे आधिकारिक उचाइ मानिँदै आएको छ । त्यसययता अमेरिका र भारतले पनि सगरमाथाको उचाइ नापेका थिए । जसमा थोरै-धेरै मापन परिमाण फरक पाइएको थियो ।

तर २०७२ सालमा आएको महा भूकम्पका कारण सगरमाथाको उचाइ घटेको अनुमान विज्ञहरुले गरे पनि नेपाल सरकारले यसको पुन: उचाइ नाप्न सर्भे टोली पठाएको थियो । २०७६ जेठ महिनामा नापी विभागको टोलीले सगरमाथाको उचाइ नापेर फर्किएको पनि थियो । यद्यपि हालसम्म त्यसको रिपोर्ट सार्वजनिक भएको छैन ।

  • No items

Leave a Reply

Your email address will not be published. Required fields are marked *