सीमा विवादबारे ‘नाेट’ ले मात्रै पुग्दैन, ‘एक्सन’ पनि लिनुपर्‍याे : प्रचण्ड

काठमाण्डौ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतले नेपालको सीमा अतिक्रमण गरेको विषयमा सरकारले अपनाउने कुटनीतिक पहल ठिक हुनुपर्ने बताउनुभएको छ ।

सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको आइतबारको बैठकमा अध्यक्ष प्रचण्डले सरकारले दिने वक्तव्य अर्थात् चिठी नीतिगत, सैद्धान्तिक र भावनात्मक रुपमा ठिक भएको तर एक्सनमा पनि ठिक तरिकाले जानुपर्नेमा सहमति जनाउनुभएको हो । समितिका अन्य सदस्यहरुले सरकारले ठिक लेटरमात्र पठाउने तर एक्सन गर्न नसक्ने स्थिति रहेको बताएपछि अध्यक्ष प्रचण्डले त्यस कुरामा आफू सहमत भएको बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘सरकारको प्रतिनिधित्व गर्दै परराष्ट्र मन्त्रालयको तर्फबाट दिने भनिएको वक्तव्य पनि मैले हेरेँ र त्यो लेटर नीतिगत रुपमा, सैद्धान्तिक रुपमा र भावनात्मक रुपमा पनि ठिक नै छ । त्यो लेटरमा दिइएको ओरियन्टेसन बेठिक छैन भन्ने मलाई लाग्छ । यहाँ माननीय सदस्यहरुले पनि जसले त्यो लेटर पढ्नुभएको छ, उहाँहरुले पनि लेटर ठिकै छ भनेर पनि आयो लेटर ठिकै छ तर लेटरमात्रै ठिक भएर भएन । एक्सन पनि ठिक हुन पर्‍यो भन्ने माननीय सदस्यहरुको भावना पनि बिलकुल सही नै छ ।’

लिपुलेक तथा जहाँ–जहाँको सीमामा विवाद छ, त्यो विषयमा भारत र चीन दुवै देशसँग छलफल गरिएको अध्यक्ष प्रचण्डले बताउनुभयो । भारत र चीनले लिपुलेकको विषयमा गरेको सम्झौतापछि यो समस्या भारतसँगको मात्रै नभइ त्रिदेशीय समस्या भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘लिपुलेक प्रकरणपछि यो त्रिदेशीयजस्तो बन्न गएको छ । यो दुई वटा देशले मात्रै हल गरेर पनि अब अप्ठ्यारो छ ।’

अध्यक्ष प्रचण्डले यो विषयलाई अहिले नै अन्तर्राष्ट्रिय अदालतमा लैजाने विषयमा भने एक पटक सोच्नुपर्ने बताउनुभएको छ । यो विषय सामान्य नभएको र भारतले पटक–पटक नक्सा प्रकाशित गर्दा लिपुलेक, लिम्पियाधुरा आफ्नो नक्सामा पारेको विषयलाई समेत हिसाब गर्नुपर्ने बताउनुभयो ।

कालापानीमा भारतीय सेना झण्डै ६०/६५ वर्ष पहिल्यैदेखि बसिराखेको र त्यसको बारेमा गम्भीरतापूर्वक विषयलाई उठाउने र समाधानको निम्ति पहल गर्नेमा विगतदेखि अहिलेसम्म किन भएन भनेर समेत विश्लेषण गर्नुपर्ने उहाँले बताउनुभयो । यस्तै पञ्चायतको पालादेखि अहिलेको सरकारसम्मले के गरे भन्ने पनि समीक्षा गर्नुपर्ने विषय भएको उहाँले बताउनुभयो ।

उहाँले गत वर्ष नै सरकारले सर्वदलीय र सर्वपक्षीय बैठक आह्वान गरी राष्ट्रिय सहमतिको वातावरण निर्माण गर्ने काम गरेको, त्यसबाट सरकार र प्रधानमन्त्रीलाई निकै ठूलो तागत दिएको भए पनि काम ठोसरुपमा अगाडि बढ्न नसकेकोप्रति भने आफूले पनि चासो दिएको बताउनुभयो ।

  • No items

Leave a Reply

Your email address will not be published. Required fields are marked *