सिरहाकाे सीमा क्षेत्रमा भारतीयकाे दादागिरी : स्थानीयले यसरी गर्दैछन् प्रतिरोध

गएको माघ दोस्रो साता सिरहाको भारतीय सीमावर्ती भगवानपुर गाउँपालिका ४ ठाढीको नेपाली भूमिमा सशस्त्र प्रहरी बलको ड्युटी पोष्ट निर्माण गर्न खोज्दा भारतीय पक्षले अवरोध गर्‍याे।

नेपालतर्फको दशगजा मिचेर भन्सार चेक पोष्ट संचालन गर्दै आएको भारतीय पक्षले नेपाली भूमिमा सशस्त्रको ड्युटी पोष्ट समेत बनाउन नदिएपछि नेपालीले सीमा क्षेत्रमा नाराबाजी नै गरे ।

ठाढीमा डेरी पसल चलाउँदै आएका श्रीलाल पासवानसहित स्थानीय रामअशिष पासवान, रामचन्द्र साह लगायतको नेतृत्वमा स्थानीय बासिन्दाले भारतीय पक्षको दादागिरी विरुद्ध नाराबाजी नै गरे । त्यस लगत्तै नेपाल भारत सीमा सर्वेक्षण टोली नम्बर २ जलेश्वरका नेपाली सर्वेक्षक उमेशकुमार र भारतीय सर्वेक्षक मञ्जुल ममगाईले स्थलगत अनुगमन गरेपछि २१ माघ गतेदेखि पोष्ट निर्माण सुचारु भयो ।

स्थानीय अगुवा श्रीलाल भन्छन्, ‘नेपालीले भारतीय पक्षको प्रतिवाद गरेपछि सशस्त्रको ड्युटी पोष्ट मात्र निर्माण भएन, भारतीय पक्षले अतिक्रमण गरेको दशगजा क्षेत्र पनि खाली गराउने सहमति भएको छ ।’

स्थानीयले रोके स्वागतद्वार निर्माण
भारतीय पक्षले बोर्ड झुन्ड्याएरै दशगजामा भन्सार चेकपोष्टसँगै एसएसबीको चेकपोष्ट संचालन गरेपछि स्थानीयले बेला बेलामा विरोध गर्दै आएको श्रीलाल बताउँछन् ।

नेपालतर्फ दशगजा क्षेत्रमै फागुनको पहिलो साता ०७५ मा भारतीय पक्षले जबर्जस्ती स्वागतद्वार बनाउन जेसिभी प्रयोग गरी निर्माण कार्य थालेपछि श्रीलालकै नेतृत्वमा ठाढीका बासिन्दाले रोकेका थिए ।

एसएसबीको संरक्षणमा स्वागतद्वार बनाउन खोजिएपछि ठाढीस्थित सशस्त्र प्रहरी बोर्डर आउट पोष्टका तत्कालीन इञ्चार्ज सशस्त्र प्रहरी निरीक्षक कैलाश कटुवालसहितको उपस्थितिमा निर्माण नरोके ढुंगामुढा गर्छौं भन्दै दवाव दिएपछि निर्माण रोकिएको उनले बताए ।

भारतीय पक्षको जबर्जस्ती विरुद्ध श्रीलालसहितको नेतृत्वमा स्थानीयले जिल्ला र केन्द्रलाई गुहारेपछि स्थललग रुपमा नापी तथा भूउपयोग व्यवस्थापन महाशाखा अन्तर्गत नेपाल भारत सीमा सर्वेक्षण टोली नम्बर २ जनकपुरबाट आएको टोलीले ठाढीमा स्थलगत अनुगमन गरेको थियो ।

टोलीले विवादित सीमा क्षेत्रको स्थलगत अनुगमनपछि १० फागुन ०७५ मा दशगजामा भारतीय पक्षले बनाउन लागेको स्वागतद्वार नेपालको दशगजा क्षेत्रमा पर्ने लिखित प्रतिवेदन दिएको जिल्ला प्रशासन कार्यालय सिरहाले जनाएको छ । टोलीले भारतीय पक्षबाट नेपाल भारत सीमा क्षेत्रको पर्ने व्यहोराको लिखित प्रतिवदन दिएपछि १७ फागुनमा गृह मन्त्रालयलाई लिखित जानकारी गराएको थियो । नयाँ पत्रिकाबाट

  • No items

Leave a Reply

Your email address will not be published. Required fields are marked *