विराटनगर – मोरङको ग्रामथान गाँउपालिका – ४ स्थित सगरमाथा टोलमा जस्ता पाताले छाएको माटोको घर । घरको सिकुवामा ६१ वर्षीया बृद्धा छोरी र नातिनी आउ भन्दै बर्बराइहेकी छिन्।घरको अगेना राती परेको पानीले हिलाम्मे छ। बृद्धा महिलाको वरिपरि ससाना केटाकेटी र कान्छी बुहारी रेखदेखमा छिन्। कान्छी बुहारी मन्जु कटवाल र केटाकेटी बृद्धालाई आउँदै छन् भन्दै ढाडस दिँदैछन्।
बृद्धा दीर्घमाया कट्वालकी माइली छोरी सीता अधिकारी र दुई नातिनी १३ वर्षीया पवित्रा र ९ वर्षीया कृतिका आइतबार बिहान करिब ७ बजेबाट घर फर्केका छैनन् र उनीहरु अब फर्केर आउने पनि छैनन् । त्यसैले पनि छोरी र नातिनीको यादमा दुर्गादेवी र कटवाल परिवारले आइतबार रातीबाटै राम्ररी खानपान समेत गर्न सकेका छैनन् ।
भाइ रुद्र, दिपक र प्रेमले सुरु गरेको माछापालन व्यवसायलाई सघाउँदै आएकी सीता आइतबारपनि सदाझैँ बिहान माछा रुग्न घरबाट करिब १ किलोमिटरको दूरीमा रहेको पोखरीमा पुगेका थिए।भाइहरुको व्यवसायमा कतै खलल नहोस् भन्ने हेतुले उनी बिहानबाटै चरा धपाउने, खसी बाख्राका लागि पोखरी वरिपरिको घास काटेर बेलुका घर पुग्ने गर्थिन् । तर, आइतबार कट्वाल परिवारमा अर्को घट्ना हुन पुग्यो जसको कल्पनासमेत परिवारले गर्न सकेको थिएन।
आइतबार बिहान खानामा भात र खाजाका रुपमा केही सुक्खा रोटी लिएर जेठी छोरी पवित्रा पोखरीतिर गएकी थिइन्। कोरोना महामारीसँगै लकडाउन र निषेधाज्ञाले विद्यालय बन्द रहँदा छोरीहरु फुर्सदिला थिए ।
‘ईश्वर आधारभूत विद्यालयमा कक्षा २ मा पढ्ने कृतिका र जनता माविमा कक्षा ६ मा पढ्ने पवित्रा जहाँ जाँदा पनि आमासँगै हुन्थे’, सीताको कान्छो भाइ प्रेमकी श्रीमती मन्जुले बेलिबिस्तार लगाइन् ।
बिहान गएकी दिदी र भान्जीहरु बेलुकासम्म घर नआउँदा परिवारले चासो देखाएको थियो ।परिवारका अन्य सदस्यले दिदी सीता र भान्जीहरुको खोजी गरे, पोखरी वरिपरि कराए । तर, कतै पार नलागेपछि राती भाइ रुद्र पोखरीमा हामफाले। घटनाबारे जानकारी पाएको प्रहरीको एउटा टोलीसमेत पोखरीमा खोजीमा जुट्यो।
टर्चलाइट बालेर निक्कै समय खोजी गरिसकेपछि भाइ रुद्रले दिदी सीता करिब ८ फिट गहिरो पोखरीको पूर्वतर्फ डुबेको अवस्थामा फेला पारे। त्यसैगरि, दुवै भान्जीहरु (सीताका दुवै छोरी) दिदीको शव भेटिएकोभन्दा लगभग पाँच मिटर पश्चिममा पोखरीकै पानीभित्र मृत भेटिए ।
स्थानीयका अनुसार घटनाको खबर पाएपछि प्रहरी आएर तीनै जनाको शव निकाल्दा राति १० बजिसकेको थियो । शव बाहिर निकाल्दा कान्छी छोरीको शरीरमा कपडा थिएन । पोखरीको डिलमा सीताले घाँस काट्ने हसिया, डोको नाम्लो यथावत रहेको छ । त्यसैगरि, डोकोभित्र कपडा र केही रोटी समेत रहेका छन्।
सीताको कान्छो भाइ प्रेम कटवालका अनुसार २०५६ सालमा उदयपुरका धनबहादुर थापासँग दिदी सीताको मागी बिहे भएको थियो । थापातर्फका १९ वर्षीय छोरा छन् । त्यसपछि परिवारमा बेमेल भएसँगै दिदीले झापाका दीपक पुरीसँग दोस्रो बिहे गरेकी थिइन्।
‘पुरीसँग दोस्रो बिहे गरेपछि भान्जी पवित्रा जन्मिएकी हुन्,’ प्रेमले भने, ‘त्यहाँ पनि घरजम राम्रो नभएपछि दिदीले झापाको अधिकारी थरका व्यक्तिसँग तेस्रो बिहे गर्नुभएछ ।’ तेस्रो बिहे गरेकी दिदीबाट भान्जी कृतिका जन्मिएको प्रेमले बताए । तर अधिकारी थरका व्यक्ति पनि भान्जी कृतिका पेटमा आएपछि बेपत्ता भएको प्रेमको भनाइ छ ।
दिदी र भान्जीको मृत्युले परिवारमा बज्रपात परेको बताएका प्रेमले दिदीले तेस्रो बिहे गरेका व्यक्तिका बारेमा भने जानकारी हुन नसकेको बताए । उनले भने, ‘दुवै भान्जीका बाबुको अहिलेसम्म कुनै ठेगान छैन । तेस्रो बिहे गर्दा पनि शान्ति नमिलेपछि माइती–मावलीको शरणमा आएका दिदी र भान्जीलाई पनि पोखरीले निल्यो।’
ग्रामथान वडा नम्बर मोतिपुरका अध्यक्ष वैजनाथ विश्वासले माछालाई रुँघ्ने र चारो दिने क्रममा गर्मी भएपछि पौडी खेल्न पसेका छोरीहरु निस्कन नसकेपछि अत्तालिएर बचाउन आमा पनि जाँदा तीनै जनाको मृत्यु भएको हुन सक्ने बताए।
‘घटना हेर्दा दुई छोरी पोखरीमा डुबेपछि उद्दारका लागि आमा पसेको जस्तो देखिन्छ,’ उनले भने, ‘एउटै परिवारका तीनै जनाको मृत्यु हुँदा गाउँमा सन्नाटा छाएको छ।’
सीताको पहिलो श्रीमानबाट जन्मिएका छोरा १९ वर्षीय विवेक थापाले आमालाई दागवत्ती दिएका थिए।इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले घटनाका बारेमा अनुसन्धान अघि बढाइएको बताए। deshsanchar.com