तत्कालीन राजा वीरेन्द्रको परिवार बस्ने निजी निवास सर्वसाधारणका लागि खुला

काठमाडौं, मंसिर । तत्कालीन राजा वीरेन्द्रको परिवार बस्ने निजी निवास नागरिकले हेर्न पाउने गरी खुला गरिने भएको छ । नारायणहिटी दरबार संग्रहालय विकास समितिका अनुसार राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, छोरी श्रुति र छोरा नीराजन बस्ने गरेको घर ‘श्री सदन’ शुभारम्भ गर्दै सर्वसाधारणका लागि खुला गरिने भएको हो । २०५८ जेठ १९ गते राजा वीरेन्द्रको वंशै नाश हुने गरी दरबार हत्याकाण्ड भएदेखि श्री सदन बन्द छ । तत्कालीन राजा वीरेन्द्रकै डिजाइनमा २०२३ सालमा श्री सदन भवन निर्माण गरिएको थियो ।

युवराजाधिराज उमेर पुगेपछि अलग बस्नुपर्ने नियमअनुसार राजा वीरेन्द्र महेन्द्र मञ्जिलबाट श्रीसदन सरेका थिए । तत्कालीन राजा महेन्द्र उमेर पुगेपछि त्रिभुवन सदनबाट महेन्द्र मञ्जिल र तत्कालीन राजा दीपेन्द्र उमेर पुगेपछि श्रीसदनबाट त्रिभुवन सदन सरेका थिए ।

आइतबारदेखि ‘श्री सदन’ का साथै गणतन्त्र स्मारकसमेत सर्वसाधरणले अवलोकन गर्न पाउने गरी खुला हुने बताइएको छ । श्री सदनको पहिलो तलामा राजा वीरेन्द्र सुत्ने कोठा र रानी ऐश्वर्यको कोठा छन् ।

रानी ऐश्वर्यको कोठामा उनले हेर्ने गरेको टेलिभिजन, गीतका क्यासेट र क्यासेट प्लेयर छन् । दोस्रो तलामा कान्छा छोरा निराजन र छोरी श्रुतीका कोठा छन् । मोटर ग्यारेजमा हिटलरले राजा त्रिभूवनलाई उपहारस्वरुप दिएको गाडी राखिएको छ ।

यसैगरी तत्कालीन राजा त्रिभुवन, महेन्द्र र वीरेन्द्रले चढ्ने गाडी पनि अवलोकन गर्न पाइने छ । त्यहाँ दीपेन्द्र, श्रुती र निराजनका खेलौना गाडीहरु पनि राखिएका छन् । वीरेन्द्रले प्रयोग गरेको हेलिकप्टर र हवाईजहाज पनि अवलोकन गर्न पाइने छ ।

  • No items

Leave a Reply

Your email address will not be published. Required fields are marked *