प्रचण्ड-नेपाल ८३ सांसदसहित अल्पमतमा, ओली ९२ सांसदसहित बहुमतमा

काठमाडौँ। संघीय संसदको विशेष अधिवेशन बोलाउन राष्ट्रपति कार्यालयमा दर्ता गर्न खोजिएको पत्रले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र आन्तरिक शक्ति सन्तुलनलाई पनि सार्वजनिक गरिदिएको छ।

बुधवार संघीय संसदको विशेष अधिवेशन बोलाउन माग गर्दै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदले राष्ट्रपति कार्यालयमा पत्र दर्ता गराउने क्रममा शक्ति सन्तुलन सार्वजनिक भएको हो।

यसअनुसार प्रतिनिधिसभामा प्रचण्ड-नेपाल समूह अल्पमतमा रहेको देखिएको छ भने प्रधानमन्त्री केपी शर्मा ओली ९६ सांसदसहित बहुमतमा देखिएका छन्। प्रतिनिधिसभाका कुल २७५ मध्ये एक-चौथाइ सांसदले लिखित रूपमा पत्र दिएर आह्वान गरेमा राष्ट्रपतिले १५ दिन भित्र संसदको विशेष अधिवेशन बोलाउन सक्ने संवैधानिक व्यवस्थालाई प्रयोग गर्दै प्रचण्ड नेपाल समूहले ८३ सांसदको हस्ताक्षर लिएर राष्ट्रपति कार्यालयमा पुगेका थिए।

“संसदको विशेष अधिवेशन बोलाउनलाई कम्तीमा ६९ जना सांसदको हस्ताक्षर भए मात्रै पनि पुग्छ, तर प्रचण्ड-नेपाल समूहले बल गरेर ८३ जना सांसदको हस्ताक्षर संकलन गरेको देखियो,” ओलीनिकट स्थायी कमिटी सदस्यले भने, “आवश्यकभन्दा १४ जना बढी सांसदको हस्ताक्षर संकलन गरेको देख्दा आफ्नो पक्षमा यति सांसद छन् भनेर देखाउन निकै बल गरेको देखिन्छ, तर त्यो हस्ताक्षरले ओलीको विरुद्धमा नउभिने सदस्य ९२ जना रहेको स्पष्ट रूपमा गणितीय तथ्यांकले नै देखाएको छ।”

प्रतिनिधिसभाको सदस्य सङ्ख्याका आधारमा पनि ओली एक्लै ९ सांसदको मतले बहुमतमा रहेको प्रचण्ड-नेपाल समूहले राष्ट्रपति कार्यालयमा दर्ता गराउने खोजेको पत्रले पुष्टि गरेको उनको भनाइ छ। संघीय संसदअन्तर्गतको प्रतिनिधिसभामा तत्कालीन नेकपा एमालेका १२१ र माओवादी केन्द्रका ५४ सांसद गरी नेकपाका १७५ सांसदले प्रतिनिधित्व गर्दै आएका छन्।

उता, राष्ट्रियसभा पनि ओली बहुमतमा रहेका छन्। राष्ट्रपति कार्यालयमा बुझाएको पत्रझैँ राष्ट्रियसभा सदस्यले पत्र नलेखी सकेकाले सङ्ख्या छुट्याउन नसके पनि ओलीको पक्षमा झन्डै ६० प्रतिशत सांसद रहेको बुझिएको छ।

प्रचण्ड-नेपाल समूह प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैतर्फ अल्पमतमा परेपछि ओलीलाई विधि र प्रक्रियाबाट हटाउन नखोजेको ओली पक्षको तर्क छ। “ओलीजीलाई हटाउन सक्ने गणितीय सार्मथ्य भए उहिल्यै नै आँट गर्दथे, तर गणितीय सार्मथ्य नभएपछि हटाउन नसकेका हुन्,” उनले भने, “त्यसैले पनि प्रधानमन्त्रीज्यू पनि ढुक्क भएर ‘ओपन च्यालेन्ज’ गरेर बस्नुभएको हो।”
उनका अनुसार गणितीय सार्मथ्य नभएपछि प्रचण्ड-नेपाल समूह विभिन्न बहाना खोजेर ओलीलाई अप्ठयारोमा पार्न खोजिरहेका छन्।

  • No items

Leave a Reply

Your email address will not be published. Required fields are marked *