आज गुरुङ समुदायले नयाँ वर्षको रुपमा तमु ल्होसार मनाउँदै, सुदूरपश्चिममा ‘पुषे पन्ध्र’

काठमाडाैं, १५ पुष । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिने भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समुदायका मानिसको विश्वास छ । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ ।

गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो । यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोवास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ ।

पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ । यस अवसरमा विगत वर्षमा टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गर्ने गरिएकामा यस वर्ष कोरोना महामारीका कारण घरघरमै मनाइने गुरुङ समाजले जनाएको छ ।

पश्चिममा पुषे पन्ध्र

सुदूरपश्चिमबासीहरुले आजकाे दिनलाई ‘पुषे १५’ काे नाममा मनाउने गर्छन् । स्थानीय मौलिक पर्वका रुपमा पुषे पन्ध्र पर्व मनाउँदै आएकाे पाइन्छ । आज सबैभन्दा लामाे र चिसाे रात हुने मान्यताअनुसार साँझदेखि राति अबेरसम्म मीष्ठान्न परिकार बनाई खाँदै एकआपसमा भेला भएर रमाइलाे गरी मनाउने चलन छ । बातै अर्थात लाेककथाहरु सुन्ने/सुनाउने गरी राति अबेरसम्म रमाइलाे गर्दै जाग्राम बस्ने गर्छन ।

आजको दिन तरुल, सखरखण्ड, फर्सी, पिँडालु, चाखु/सख्खर र माडा लगायत परिकार खाँदै जीउ तताउने गरिन्छ । त्यस्तै आजको दिनमा वनपूजा पनि गरिन्छ । प्राय: गाउँठाउँमा वनमै गएर सेल, पुरी, झँजे (चामलको पिठोबाट बनाईने परिकार) आदि मिष्ठान्न पक्वानहरु पकाएर दिनभरि नै रमाइलाे गर्ने गरिन्छ । साथै आज वनजङ्गलमा काम नगर्ने र वञ्चरो, हँसिया, बनारो (घाँसपात, दाउरा बान्ने रसी) लगायतका सामाग्रीको पूजा समेत गरिन्छ ।

याे चाड पनि सूर्यकाे माेसनसँगै सम्बन्धित छ । पुष १५ पछि दिन लामाे हुँदै जाने र रात छाेटिँदै जाने तथा सूर्यकाे उत्तरायण गति सुरु भएर धरतीमा तापमान बढ्दै जाने विश्वास गरिन्छ ।

  • No items

Leave a Reply

Your email address will not be published. Required fields are marked *