काठमाडौं । प्रखर बुद्धिजीवी सौरभले आफूले २०७२ को संविधान नमान्ने र यसअघिको राष्ट्रिय गान ‘आफूले ‘गम्भीर नेपाली’ नै गाउने बताएका छन् । हिमालय टिभीको यक्ष प्रश्नमा बोल्दै उनले सक्छौ भने आफूलाई देश निकाला गर्न पनि सरकार र दलहरुलाई चुनौति दिएका छन् ।
सौरभ भन्छन्, ‘म उठ्दा ‘जंगी निशान’ नै गाउँछु । अहिलेको राष्ट्रिय गीत गाउँदिन । किनभने लडेर बनेको देशको राष्ट्रिय गान पाखुराको रौं नउठ्ने पनि हुन्छ ?’ ‘अहिलेको राष्ट्रिय गान जस्ले लेखेको हो, उसले गाए हुन्छ’, उनले थपे ।
साथै, सौरभले १७ हजारको हत्याको आरोप लाग्दै आएका पुष्पकमल दाहाल प्रचण्ड, बाबुराम भट्टराई सामुन्ने हुँदै आफूले कहिल्यै नमस्कार नगर्ने गरेको खुलासा गरे । उनीहरुप्रति आफ्नो कुनै सम्मान नरहेको उनले बताए ।
संविधानसभाको घोषणा भएपछि आफू कहिल्यै पनि भोट हाल्न नगएको खुलासा गर्दै सौरभले भने, ‘नेपालबाट उठेको संविधानसभा भएको भए म हाल्थें । यो इण्डियाले ल्याएको संविधानसभाको चुनाव हो ।’
सौरभ जस्तो व्यक्तिले देशको संविधान मान्दिन्, देशको राष्ट्रिय गान गाउँदिन भन्न मिल्छ ? भनेर सोध्दा उनले भने, ‘त्यसो भए मलाई देश निकाला गरे भैगो त । कालापानी पठाए नी हुन्छ । इन्टार्टिका लगेर राखिदिए पनि हुन्छ । तर, यो संविधान (२०७२ को) मान्न सकिन्न । यो संविधान च्यातेर फाल्नुको विकल्प छैन भनेर मैले माओवादीलाई सर्पोट गर्ने पत्रिका नयाँपत्रिकामा बकैदा लेखेको छु ।’
सौरभले २०७२ को संविधान एक पटक किनेर पढ्न सल्लाह दिँदै त्यसमा कुनै पनि नेपालीले आफ्नो आत्मसम्मान महशुस गर्ननसक्ने बताए । साथै, उनले नेपाली काँग्रेस २०६२ सालअघि नै मरिसकेको बताउँदै अहिले काँग्रेस नेपाली काँग्रेस (माओवादी)भएको तर्क गरे ।