संसद् पुर्नस्थापना जनताको हितमा छैन : मोहन वैद्य

विराटनगर: नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ले संसद् (प्रतिनिधिसभा) पुर्नस्थापना जनताको अहितमा हुने बताएका छन् ।
मोरङको बेलबारीस्थित लक्ष्मीमार्गमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै उनले अदालतमा संसद विघटन सम्बन्धी मुद्दाको सुनुवाइ जारी रहे पनि पुर्नस्थापना अहिलेको आवश्यकता नभएको उल्लेख गरे । संसदीय व्यवस्था, मुलुकको संविधान र अहिलेको राजनीतिक प्रणाली असफलताको बाटोतर्फ गइसकेको अवस्थामा संसद पुर्नस्थापना जनतालाई धोका दिने विषय मात्रै भएको वैद्यको तर्क छ ।

अमेरिकी सदनमा पछिल्लो समय भएको आक्रमणदेखि विश्वका विभिन्न मुलुकमा भएका संसदीय दुर्घटनाको उदाहरण दिँदै उनले विश्वले नै यो व्यवस्था नरुचाएको टिप्पणी गरे । ‘विश्वमा संसदीय प्रणालीहरु असफल हुँदै गइरहेका छन् । नेपालले पनि विश्वका विभिन्न घटनाक्रमबाट पाठ सिक्नु पर्छ,’ उनले भने, ‘अमेरिका र अरु मुलुक हुँदै नेपालसम्म आइपुग्दा संसद पूरै असफल भएको कुरा लुकेको छैन । विघटित संसद पुर्नस्थापना भए झन् खतरनाक फाँसीवादी चरित्रको उदय हुन्छ ।’

पुर्नस्थापित संसदले जनताको आकांक्षालाई पूरा नगर्ने र जनजीविकालाई सम्बोधन नगर्ने वैद्यको बिचार छ । उनले आफूहरु सधैं संसदीय प्रणालीको विरोधमा रहेको पनि दोहोर्‍याएर । वैद्यले घोषित आमनिर्वाचन पनि जनताको पक्षमा नहुने बताए ।

‘तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन भन्ने कुरामै अन्योल छ,’ उनले भने, ‘यदि भइहाल्यो भने जनताको हितमा हुने गरी नतिजा आउँदैन ।’ निर्वाचन भएर प्राप्त हुने परिणामले पनि सधैं जनताले दुःख मात्रै पाइरहने उनको जिकिर छ । निर्वाचनबाट उल्टै फाँसीवादी चरित्रको उदय हुने भएकाले सबै सचेत बन्नुपर्ने वैद्यले बताए ।

बरु जनगणतन्त्रको बाटोमा अघि बढ्नका लागि उनले सबैमा आह्वान गरे । ‘जनगणतन्त्रका लागि संसदीय परिपाटीमा अल्झिएका दलबाहेकका शक्तिसँग मिलेर अगाडि बढ्ने हाम्रो योजना छ,’ उनले भने, ‘त्यसका लागि हामी मोर्चावन्दीको तयारीमा छौँ ।’ नेता वैद्यले साना र क्रान्तिकारी शक्तिसँग कार्यगत एवं पार्टीगत एकता तथा तालमेल गरेर अघि बढ्ने योजनामा आफूहरुको रहेको सुनाए ।

नेत्रविक्रम चन्द ‘विप्लव’सँग कतिपय मुद्दामा असहमति रहे पनि उनले कुनकुन विषयमा मत नमिलेको हो भनेर प्रष्ट पारेनन् । तर असहमति र समस्याको हल भएमा ‘विप्लव’सँग पनि पार्टी एकता हुने जानकारी उनले दिए । वैद्यले जनताको अहितमा रहेको विषयलाई राजनीतिका नाममा बढवा दिन र पृष्ठपोषण गर्न नहुने विचार व्यक्त गरेका छन् ।

पार्टीभित्र पद, प्रतिष्ठा र अहमताको लडाइँका कारण प्रधानमन्त्री केपी शर्मा ओली संसद विघटनसम्म पुग्नु परेको जिकिर उनको छ । ‘सत्तामा रहेको नेकपाभित्र लोभीपापीको लडाइँ चलिरहेको छ । पद प्राप्तिका लागि मुर्खतापूर्ण हिसाबले जुनसुकै हत्कण्डा पनि अपनाउन थालिएको छ,’ वैद्यले भने, ‘जनजीविका, जनगणतन्त्र र कम्युनिष्टको साम्यवादमा पुग्ने लक्ष्य एवं सिद्धान्त विपरीत नेताहरु पदको लोभी बन्दा पार्टी विभाजनामा पुग्यो । संसद विघटन त्यस्कै परिणाम हो ।’

पदको लोभमा फस्नेहरुको स्वार्थका लागि लोकको हित विपरीत संसद विघटन गर्नुपर्ने अवस्था आउनुले राम्रो सन्देश नगएको उनको तर्क छ । जनताको इच्छा र चाहनाभन्दा पनि कम्युनिष्टका नाममा पदका लागि मरिमेट्ने परिपाटी बढेकोमा वैद्यले चिन्ता व्यक्त गरे ।

  • No items

Leave a Reply

Your email address will not be published. Required fields are marked *