काठमाडौंमा साथीको हत्या गरेर भारत भागेका भिमे सार्की ६ वर्षपछि पक्राउ

६ वर्ष अगाडि काठमाडौंमा आफ्नै साथीको हत्या गरेर फरार भएका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

२०७१ साल चैत ९ गते काठमाडौं महानगरपालिका-१० अन्तर्गत पर्ने धोबीखोलको सिम्रिक (रातो) पुलमुनि एकजना पुरुषको शव फेला परेको थियो ।

टाउकोमा गम्भीर चोट लागेको अवस्थामा शव परेपछि कसैले हत्या गरी शव फालेको हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो ।

अनुसन्धानका क्रममा मृत फेला परेका व्यक्ति दाङको तुल्सीपुर नगरपालिका-१० घर भइ काठमाडौं महानगरपालिका-१० थापागाउँ बस्ने ४८ वर्षीया द्रोणबहादुर सेन भएको खुल्यो ।

अनुसन्धानका क्रममा द्रोणबहादुरको हत्या उनकै साथीले गरेको खुल्यो । द्रोणबहादुरको हत्या गर्ने साथी थिए रामेछाप जिल्लाको साबिक बेताली गाविस-६ (हाल गोकुलगंगा गाउँपालिका- काफ्लेटोल) घर भइ ललितपुरको कुमारीपाटी बस्ने ५४ वर्षीय भिमे सार्की ।

द्रोणबहादुरको हत्यापछि भिमे काठमाडौंबाट भागेर भारत गएका थिए । यसबीचमा उनी भारतको राजस्थान राज्यको जयपुरसम्म पुगेका प्रहरी अनुसन्धानबाट खुलेको थियो । पछिल्लो समय उनी भारतबाट फर्किर पुनः काठमाडौंमा नै लुकिछिपी बस्दै आएको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखाको टोलीले निगरानी शुरु गरेको थियो ।

अपराध महाशाखाबाट खटिएको विशेष टोलीले सार्कीलाई बुधबार काठमाडौंबाटै पक्राउ गरेको हो । पक्राउ परेका सार्कीले इट्टाले टाउकोमा प्रहार गरेर द्रोणबहादुरको हत्या गरेको स्वीकार गरेका प्रहरीको भनाइ छ ।

पक्राउ परेका सार्कीमाथि थप अनुसन्धानका लागि महानगरीय प्रहरी बृत्त नयाँ बानेश्वर पठाइएको महाशाखाले जानकारी दिएको छ ।

  • No items

Leave a Reply

Your email address will not be published. Required fields are marked *