अक्सिजन सिलिण्डर लुकाउनेलाई कारबाही गर्ने सरकारकाे चेतावनी

सरकारले आफ्नाे निर्णय विपरित अक्सिजन र अक्सिजन सिलिण्डरहरु उधोगमा प्रयोग भइरहेको जनाउँदै ति अक्सिजनहरु तत्काल अस्पतालहरुलाई उपलब्ध गराउन निर्देशन दिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अँझै पनि अक्सिजन र अक्सिजन सिलिण्डरहरु उधोगमा प्रयोग भइरहेको भन्दै तत्काल अस्पतालहरुलाई उपलब्ध गराउन भनेको हो।

मन्त्रालयका सह प्रवक्ता डा समिरकुमार अधिकारीले बिहीबार एक सूचना जारी गर्दै सिलिण्डरहरु अस्पतालमा उपलब्ध हुने गरी फिर्ता गर्न आग्रह गरेका छन्। मन्त्रालयले अक्सिजन र अक्सिजन सिलिण्डर उधोगमा प्रयोग नगर्न नेपाल सरकारको निर्णय विपरित अहिले पनि विभिन्न उधोगमा अक्सिजन र अक्सिजन सिलिण्डरहरु प्रयोग भइरहेको जनाएको छ।

साथै, अनुगमनका क्रममा ठूलो मात्राममा अक्सिजन सिलिण्डरहरु खाली रहने वा भरेर भण्डार गरेर राख्ने पाइएको भन्दै यसरी नराख्न सबैलाई अनुरोध समेत गरेको छ। मन्त्रालयले सरकारको निर्णयको पालना नगर्नेलाई संक्रामक रोग ऐन, २०२० अनुसार अनुगमन गरी कारबाही गर्ने चेतावनीसमेत दिएकाे छ।