अक्सिजन, सिलिन्डर र भेन्टिलेटर कमी हुन दिएका छैनौँ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी ओलीले सरकारले कोरोना भाइरस नियन्त्रणमा सरकारले प्रभावकारी काम गरिरहेको दाबी गरेका छन् ।

झापाको दमकस्थित दमक बहुमुखी क्याम्पसको अत्याधुनिक भवनको भर्चुअल माध्यमबाट शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले सरकारले कोरोनाविरुद्ध प्रभावकारी काम गरिरहेको दाबी गरेका हुन् ।

उनले अहिले नेपालमा अक्सिजन, अक्सिजन सिलिन्डर, भेन्टिलेटरलगायत सामग्री पर्याप्त व्यवस्था गरेको दाबी गरेका छन् । ‘कोरोनाले एउटा राष्ट्र वा भूगोलको मात्र हाेइन, विश्वलाई नै आक्रान्त बनाएको छ । धनी, गरिब, ठूला, साना नभनी सबैलाई आक्रान्त बनाएको छ । हामी सबैसँग हातेमालो गरेर अघि बढेका छौँ । सरकार कोरोनाविरुद्ध सरकारले प्रभावकारी ढंगले लडिरहेको छ,’ उनले भने, ‘अक्सिजन र सिलिन्डर भेन्टिलेटरको कमी थियो । पूरा गरेका छौँ ।’ उनले सरकार सबै नागरिकलाई खोपको प्रवर्द्धन गर्न अघि बढेको बताए ।

प्रधानमन्त्री ओलीले सरकारले अहिले कोरोना संक्रमणबाट मृत्युदर र संक्रमण दर घटाएको दाबी गरे । उनले कोरोना संक्रमण नियन्त्रणमा प्रत्येक नागरिक सिपाही भएको बताउँदै सचेत हुन आग्रह गरे । प्रधानमन्त्री ओलीले कोरोना महामारीसँगै सरकारले विकास निर्माणको काम पनि अघि बढारहेको बताए । ‘विकासको मार्गमा सरकार अघि बढेको छ,’ उनले भने, ‘कोभिडविरुद्ध लड्ने काममा कमी हुन नदिईकन हामी विकास निर्माणको काम गरिरहेका छौँ ।’