अक्सिमिटर कालोबजारी गर्ने व्यापारी पक्राउ

अक्सिमिटर कालोबजारी गरेको आरोपमा पर्साबाट एक जना औषधी पसल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ।

पर्सा वीरगन्ज महानगरपालिका-१६ नगवाका ३२ वर्षीय रामहरि तिवारीलाई पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ। तिवारीलाई घरैबाट शुक्रबार अपरान्ह पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए। तिवारी घरमा औषधी पसल चलाउँथे।

तिवारीले १९ सय रुपैयाँमा पाइने अक्सिमिटर ३५ सय भन्दा बढी मूल्यमा बिक्री गरेको पाइएको खनालले बताए। तिवारीको पसलबाट प्रहरीले १२ थान अक्सिमिटर बरामद गरेको छ।

तिवारीलाई कालोबजारी ऐन अन्तर्गतको कसुरमा अनुसन्धान अघि बढाइने खनालले बताए।

‘कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि जारी बन्दाबन्दीमा उनले महंगोमा अक्सिमिटर बिक्री गरेको जानकारी आएपछि प्रहरीले पक्राउ गरेको हो,’ खनालले भने।