अमेरिकामा अगस्टकाे सुरुसम्म साढे १ लाखले ज्यान गुमाउन सक्ने चेतावनी

एजेन्सी-युनिभर्सिटिी अफ वासिङटन फर हेल्थ मेट्रिक्स एण्ड इभाल्युसन(आइएचएमइ)को एक अध्ययनले अमेरिकामा कोरोना भाइरसका कारण अगस्टकाे सुरुसम्म एक लाख ४७ हजार मानिसले ज्यान गुमाउन सक्ने चेतावनी दिएका छन्। आईएचएमइले मंगलबार यो रिपाेर्ट सार्वजनिक गरेको हो।

अमेरिकामा कोरोना भाइरसको संक्रमण सुरु भएलगत्तै याे संस्थाले १० हजारभन्दा धेरैकाे मृत्यु हुने अनुमान सार्वजनिक गरेको थियो। संक्रमण रोक्नका लागि लगाइएका प्रतिबन्धलगायतका उपायहरु खुकुलो गर्नु झन् खतरनाक हुनसक्ने आइएचएमइकाे चेतावनी छ। अमेरिकामा ८३ हजार मानिसले कोरोना भाइरसका कारण ज्यान गुमाएका छन् भने १४ लाख संक्रमित रहेका छन्। आइएचएमइले अमेरिकामा यो संकट झन गहिँरिदै जाने देखिएको अनुमान गरेको छ।

‘सेप्टेम्बरमा फेरि दाेहोरिन्छ कोरोना’

मंगलबार अमेरिकी सिनेटमा ह्वाइट हाउसका कोरोना टास्क फोर्सका प्रमुख एन्थोनी फाैसीले पनि लकडाउन खोल्नु घातक हुनसक्ने चेतावनी दिएका थिए। उनले देशमा लकडाउन खोल्ने हतारो गरिएमा कोरोना संक्रमण तीव्र रुपमा फैलने बताए। लकडाउन खुकुलो पार्न बनाइएका निर्देशिकाहरु पालना भएनन् भने त्यसका कारण लाखौं मानिस कोरोनाको चपेटामा आउने उनले बताए।

तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भने लकडाउन खोल्ने पक्षमा छन् । उनले यसका लागि निर्देशिका पनि जारी गरेका छन्। मंगलबार उनले अमेरिकी सिनेटलाई भिडियो कन्फ्रेन्समार्फत् सम्बोधन गरेका थिए। अमेरिकाका कैयौं राज्यमा लकडाउन खुकुलो पारिएको छ र संक्रमणको दरमा पनि वृद्धि भइरहेको छ।

उनले यो अवस्था देशले थाम्न नसक्ने मात्र नभई आर्थिक रुपमा पनि नोक्सान हुने बताए। उनले आउने सेप्टेम्बर महिनामा पुन कोरोना भाइरस दोहोरिने चेतावनी पनि दिए। कोरोना भाइरसको दोस्रो संक्रमण झन् खतरनाक हुने उनको तर्क छ । डा फाैसीले कोरोना भाइरसको भ्याक्सिन बनाउने प्रयास चलिरहे पनि छिटै सफल होला भन्ने कुनै ग्यारेन्टी नभएको बताए। भ्याक्सिन निर्माण भए यसले काम गर्नेमा भने आफू विश्वस्त रहेको उनकाे भनाइ छ।