एमालेबिरुद्ध खुलेरै मैदानमा उत्रिए माधव नेपाल

सत्तारुढ नेकपा एमालेका नेता माधवकुमार नेपाल आफ्नै पार्टी एमालेको बिरुद्ध खुलेरै मैदानमा उत्रनुभएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डको निर्देशनअनुसार एमाले बिभाजन गर्ने योजनासहित अघि बढनुभएका नेता नेपाल अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई देखाइ दिने भन्दै खुलेरै पार्टीबिरुद्ध मैदानमा उत्रनु भएको हो ।

यही क्रममा नेपाल आज सुटुक्क कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठ पुग्नुभएको छ । राष्ट्रियसभा उपचुनावमा गठबन्धन गरेर एमाले उम्मेद्वारलाई पराजीत गर्ने र प्रधानमन्त्रीलाई बिश्वासको मत लिनबाट रोक्ने उदेश्यका साथ नेपाल देउवाको शरणमा पुग्नुभएको हो ।
पार्टी अध्यक्ष ओलीले शीर्ष नेतासहित देउवासँग छलपल गर्नुभएको भोलिपल्ट आज साँझ एमाले नेता नेपाल देउवासँग छलफल गर्न बुढानिलकण्ठ पुग्नुभएको हो ।

यसअघि देउवा, नेपाल र माओवादी अध्यक्ष प्रचण्ड तथा जसपा अध्यक्ष उपेन्द्र यादवबीच दुई दिन छलफल भएको थियो । सो छलफलमा देउवासँग मिलेर ओलीलाई बहुमत पुग्न नदिनेगरी रणनीति तय गर्ने निर्णय भएको थियो। प्रधानमन्त्री ओलीको पछिल्लो रणनीति असफल बनाउन जुनसुकै हदसम्मको कदम चाल्न तयार हुनुपर्ने निश्कर्षसहित नेपाल देउवासँग छलफल गर्न पुग्नुभएको हो । माओवादी अध्यक्ष प्रचण्डको समेत जिम्मा लिएर नेपालले देउवासँग छलफल गर्नुभएको बुझिएको छ ।