ओलीको राष्ट्रवाद वक्तव्यमा सीमित : देउवा

भारतले नेपाली भूमि अतिक्रमण गरी एकतर्फी सडक बनाएको विषयमा प्रमुख प्रतिपक्षी दल कांग्रेसले दुई दिन ढिलो गरी संस्थागत प्रतिक्रिया दिएको छ । आइतबार सभापति शेरबहादुर देउवाले विज्ञप्ति जारी गर्दै नक्सा प्रकरणमा सरकार वक्तव्यमा सीमित भएको आरोप लगाएका छन् ।भारतले बाटो बनाउँदा कूटनीतिक पहल गरी समस्या समाधान गर्नतिर सरकार केन्द्रित नरहेको आरोप देउवाको छ ।

‘लिपुलेकबारेको पछिल्लो प्रकरण सार्वजनिक भएलगत्तै “चीनको मानसरोवर जोड्न भारत सरकारले लिपुलेक हुँदै सडक उद्घाटन गरेको समाचारबारे नेपाल सरकारको धारणा” माग गर्दै “उच्चस्तरीय कूटनीतिक पहलमार्फत दीर्घकालीन समाधान खोज्न”, नेपाली कांग्रेसले सरकारको दायित्व पुनः स्मरण गराएको थियो,’ सभापति देउवाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘नक्सा प्रकरणमा पनि सरकारको भूमिका केवल वक्तव्यमा सीमित रहनु र अहिले फेरि त्यही प्रवृत्ति दोहरिनु दुःखद छ । राष्ट्रवादको प्रश्न केवल वक्तव्यको विषय होइन, यो परिणाममुखी हुनुपर्दछ भन्ने कुरामा नेपाली कांग्रेस विगतदेखि नै निरन्तर प्रस्ट छ ।’

नेपालको भूभागमा नेपालको अधिकार र स्वामित्व रहने र निर्विवाद ढंगले रहनुपर्ने विषयमा सरकारले गम्भीर कूटनीतिक पहलकदमीमार्फत समाधान खोज्न प्रक्रिया थाल्नुपर्ने भनाइ कांग्रेसको छ ।राष्ट्रियताको प्रश्नमा सम्पूर्ण साथ सरकारलाई हुने उसको प्रष्टोक्ति छ ।

‘लिपुलेक, लिम्पियाधुरा र कालापानीलगायतका भूभाग नेपालका हुन् । सरकारमा रहेका वेला होस् या आज प्रतिपक्षमा छँदा यी भूभागबारे नेपाली कांग्रेसले सदैव प्रस्ष्टट धारणा राख्दै र आवश्यक भूमिका निभाउँदै आएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

यसअघि बेइजिङमा लिपुलेकबारे सहमति भएपछि सुशील कोइराला प्रधानमन्त्री हुँदा नै चीन र भारत दुवै देशलाई प्रोटेस्ट नोट पठाएर आफूहरुले असहमति देखाएको सभापति देउवाको भनाइ छ ।

‘सन् २०१५ मेमा भारत र चीनका प्रधानमन्त्रीले लिपुलेकबारे बेइजिङमा सहमति गरेपछि नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाको नेतृत्वमा रहेकोे सरकारले दुवै देशका सरकारलाई ‘प्रोटेस्ट नोट’ पठाएर नेपालका तर्फबाट प्रस्ट धारणा र गम्भीर असहमति प्रकट गरेको थियो,’ देउवाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सन् २०१९ नोभेम्बरमा भारत सरकारले आफ्नो देशको नक्सामा लिपुलेक, लिम्पियाधुरा र कालापानीलगायतका नेपाली भूभाग समाविष्ट गरेर प्रकाशित गरेपछि तत्कालै नेपाली कांग्रेसले कडा प्रतिक्रिया जनाएको दाबी गरेको छ ।

‘प्रधानमन्त्रीद्वारा आयोजित सर्वदलीय बैठकमा “भारतीय सेना रहेको कालापानीलगायतका भूमि नेपालको हो, त्यहाँबाट भारतीय सैनिक फिर्ता हुनुपर्दछ र सिमानाको नदी महाकालीपूर्वका हाम्रा सबै भूभाग फिर्ता गर्न सरकारले उच्चस्तरीय कूटनीतिक र राजनीतिक पहल गर्नुपर्छ” प्रस्ट धारणाका साथ “त्यसका लागि नेपाली कांग्रेसको पूर्ण साथ सरकारलाई रहने” घोषणा गरेको थियो,’ विज्ञप्तिमा उल्लेख छ ।

यो दुई दिनको अवधिमा वर्तमान सरकारले उच्चस्तरीय कूटनीतिक पहल प्रारम्भ नगरेर गम्भीर विषयमा केवल वक्तव्य मात्रै जारी गरेकोप्रति देउवाले आपत्ति जनाएका छन् ।सरकारलाई कूटनीतिक र राजनीतिक रूपमा उच्चस्तरीय पहलकदमी गर्न देउवाले सार्वजनिक अपिल गरेका छन् ।

नेपाली भूमि अतिक्रमण गरी भारतले चीनसम्म पुग्ने गरी बाटो उद्घाटन गरेकै दिन प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार ट्विटमार्फत सरकारको ध्यानाकर्षण गराएका थिए ।तर, पार्टीले औपचारिक धारणा सार्वजनिक गरेको थिएन । दुई दिनपछि सभापति देउवाले सरकारले गम्भीर पहल नगरेको बताएका हुन् ।