कोभिड १९ रोकथाम निम्ति प्रदेश १ सरकारद्वारा जिल्ला अस्पताल सुनसरीलाई २० लाख निकासा

प्रदेश १ सरकारले सुनसरी जिल्ला सहित अन्य जिल्लामा कोरोना रोकथाम, नियन्त्रण तथा उपचार व्यवस्थापनका लागि बजेट पठाएको छ । प्रदेश नं. १ कोरोना जनसुरक्षा कोष, कोष सञ्चालक समितिको बैठकले प्रदेश सरकार मार्फत १४ वटै जिल्लाका विभिन्न निकायलाई सहयोग रकम पठाएको हो ।

कोरोनाको संक्रमण फैलिएपनि रोकथामका लागि पूर्वतयारी कम भएको अवस्थामा प्रदेशका स्वास्थ्य संस्थाहरू मार्फत कोरोना भाईरस, कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा उपचार व्यवस्थापनका लागि आवश्यक पर्ने रकम प्रदेश सरकारले निकासा दिएको हो ।

प्रदेश सरकारले माथिल्लो सगरमाथा क्षेत्रका तीन जिल्ला सोलुखुम्बु, खोटाङ र ओखलढुंगाको प्रवेशद्धारमा पर्ने हर्कपुरमा होल्डिङ्ग सेन्टर संचालन तथा व्यवस्थापन गर्न १५ लाख बजेट पठाएको छ । त्यस्तै जिल्ला प्रशासन कार्यालय, ओखलढुंगा, भोजपुर, तेह्रथुम, संखुवासभा, धनकुटा, खोटाङ,सोलुखुम्बु, उदयपुर, पाँचथर, ताप्लेजुङ्ग लाई ५ लाखका दरले होल्डिङ्ग सेन्टर संचालन तथा व्यवस्थापनका लागि ५० लाख बजेट दिएको छ ।

जिल्ला अस्पताल, रुम्जाटार ओखलढुंगा, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, संखुवासभा, उदयपुर, सोलुखुम्बु, खोटाङ्ग, मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरलाई १० लाखका दरले र जिल्ला अस्पताल, ताप्लेजुङ्गलाई १५ लाख गरि आइसोलेसन स्थापना, संचालन तथा उपचार सेवा सम्बन्धी खर्चका लागि १ करोड १५ लाख बजेट पठाएको छ ।

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, विराटनगर कोशी अस्पताल, कोभिड–१९ उपचार केन्द्र लगायतका अस्पतालहरूको लागि आवश्यक पर्ने सेनिटाइजर, मास्क, पि.पि.ई. सेट एन्टिजेन किट, आकस्मिक औषधि लगायतका कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारसँग सम्बन्धित सामाग्री व्यवस्थापनका लागि ५० लाख, मेची अस्पताल, भद्रपुर, झापा कोभिड–१९ उपचार केन्द्र संचालन तथा व्यवस्थापन खर्च २५ लाख, जिल्ला अस्पताल, सुनसरी, इनरुवा कोभिड–१९ उपचार केन्द्र संचालन तथा व्यवस्थापन खर्च २० लाख, जिल्ला अस्पताल, धनकुटाकोभिड–१९ उपचार केन्द्र संचालन तथा व्यवस्थापन र ल्याव सम्बन्धी खर्च २० लाख, उदयपुर कोभिड–१९ अस्पताल (आइसोलेसन सेन्टर), बेलटार कोभिड–१९ उपचार केन्द्र संचालन तथा व्यवस्थापन खर्च २० लाख,

जिल्ला प्रशासन कार्यालय, झापालाई स्थायी प्रकृतिको हेल्प डेस्क तयार गर्न २३ लाख, सञ्चालनका लागि २० लाख, जिल्ला प्रशासन कार्यालय, सुनसरी होल्डिङ्ग सेन्टर सुचारू गर्नका लागि (१ महिनामा १०० जना विरामीको व्यवस्थापनका लागि) १५ लाख, जिल्ला प्रशासन कार्यालय, इलाम एम्बुलेन्स, सव–वाहान चालकको भत्ता, शव व्यवस्थापन खर्च, पशुपतिनगर सीमाक्षेत्रमा क्वारेन्टाइन, होल्डिङ्ग एरिया संचालन तथा आकस्मिक सेवा संचालनका लागि १५ लाख र जिल्ला प्रशासन कार्यालय, मोरङ्ग लाई होल्डिङ्ग सेन्टर संचालन तथा व्यवस्थापन खर्च (१ महिनामा ५० जना विरामीका लागि) २० लाख रकम प्रदेश सरकारको तर्फबाट तत्काल उपलब्ध गराउने निर्णय भएको छ ।