कोरोनाभाइरसः अबको १ महिनाभित्रै भ्याक्सिनको प्रभावकारिता प्रस्ट हुने

काठमाडौं। कोरोनाभाइरस भ्याक्सिनको विषयमा वैज्ञानिकहरुले राहतको जानकारी दिएका छन् । यो भ्याक्सिन कति प्रभावकारी छ भन्ने कुरा जून महिनाको सुरुवातमै (अबको १ महिनाभित्रै) थाहा हुने वैज्ञानिकले बताएका छन् । अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिक जोन बेलले एनबीसी न्यूजको मीट द प्रेस कार्यक्रममा यसको खुलासा गरेका हुन् ।

जोन बेलले अक्सफोर्ड विश्वविद्यालयको कोरोनाभाइरस भ्याक्सिन बनाउने टिमको नेतृत्व गरेका छन् । जोन बेलले भने ‘सम्भव छ कि हाम्रो टिमलाई जूनको सुरुवातमै यो थाहा हुनेछ कि कोरोना भ्याक्सिन प्रभावकारी छ कि छैन । मजबुत एन्टिबडी बनाउन यो भ्याक्सिन निकै प्रभावकारी हुन सक्छ । तैपनि यो कति सुरक्षित हुन्छ यो सुनिश्चित गर्नु ठूलो मुद्दा हो । भ्याक्सिनको सम्बनधमा जे पनि भइरहेको छ त्यसलाई लिएर हामी क्लिनिकमा धेरै सावधानी अपनाउने कोसिस गरिरहेका छौं । हामी यसमाथि निगरानी गरिरहेका छौं र जे पनि परिणाम आउँछ त्यसको लागि पूर्ण रुपमा सतर्क छौं ।’

बेलले सन्देह जाहेर गर्दै भने ‘कोरोनाभाइरसले फ्लुको गतिमा आफ्नो रुप बदलिरहेको छैन । त्यसैले यो भ्याक्सिनले मौसमको हिसाबले काम गर्ने सम्भावना धेरै छ ।’ शोधकर्ताहरुले आफ्नो २ चरणका परीक्षणहरुबाट पर्याप्त तथ्यांक प्राप्त हुने अपेक्षा गरेका छन् । अक्सफोर्डको यो समूह महामारी फैलिनबाट रोक्ने प्रयासका साथसाथै यसको प्रभावकारी र सुरक्षित भ्याक्सिन खोज्ने दिशामा लगातार काम गरिरहेको छ । अहिलेसम्म कोरोनाभाइरसबाट २ लाख ५२ हजारभन्दा धेरै मृत्यु भइसकेको छ र ३६ लाखभन्दा धेरै संक्रमित भइसकेका छन् ।

बेलले यो भ्याक्सिन पूर्ण रुपमा कहिले बन्छ भन्ने खुलासा गरेनन् । यद्यपि उनले भने कि पहिलो प्राथमिकता यो भ्याक्सिन सुरक्षित हुनु हो । उनका अनुसार अक्सफोर्ड ग्रुपले यसको प्रि–क्लिनिकल स्टडी पहिल्यै गरिसकेको छ र यसको सुरक्षालाई लिएर सावधानीसँगअगाडि बढिरहेको छ । बेलले भने ‘यो हाम्रो लागि ठूलो मुद्दा हो । एकातिर हामी यसलाई छिटोभन्दा छिटो विकसित गर्ने प्रयास गरिरहेका छौं, अर्कोतिर यसको सुरक्षाका विषयमा कुनै किसिमको लापरवाही गर्न सक्दैनौं ।’