कोसी अस्पततालमा प्रहरीबाटै स्वास्थ्यकर्मी कुटिए

कोसी अस्पततालमा कार्यरत एक जना स्वास्थ्यकर्मीलाई प्रहरीले कुटपिट गरेको छ । अस्पतालका सिनियर अहेब अशोक राजवंशीलाई प्रहरीले कुटपिट गरेको हो ।

अस्पतालमा काम सकेर मंगलबार राति ९ बजे घर जाँदै गरेको अवस्थामा विराटनगरको देवकोटा चोकमा खटिएका प्रहरी टोली कुटपिट गरेको अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट डा. चुमनलाल दासले बताए । ‘अस्पतालमा ड्युटी सकेपछि मोटरसाइकलमा घर जाने क्रममा देवकोटा चोकमा प्रहरीले रोक भन्यो । गाडी रोक्ने बित्तिकै दुई जना प्रहरीले भाटाले कुटपिट गर्न थाल्नुभयो,’ राजवंशीले भने, ‘म स्वास्थ्यकर्मी हुँ, अस्पतालमा ड्युटी सकेपछि घर जाँदैछु भनिरहँदा पनि कुटपिट गरिरहे । ’

प्रहरीको कुटाइबाट राजवंशीको खुट्टा, घुँडालगायत शरीरको विभिन्न भागमा चोट लागेको मेडिकल सुपरिडेन्टेन्ट दासले बताए ।

‘जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्कासँग छलफल भएर दोषी प्रहरीलाई कारबाही गर्ने सहमति भएको छ,’ मेसु दासले भने, ‘पीडित स्वास्थ्यकर्मीले जाहेरी दिएपछि दुवै जना प्रहरीलाई कारबाही गर्ने सहमति भएकोले जाहेरी दिने तयारी भइरहेको छ ।’

जिल्ला प्रहरी मोरङका प्रवक्ता डीएसपी मानबहादुर राईले घटनाको बारेमा अनुसन्धान भइरहेकोले अनुसन्धानपछि सत्यतथ्य बाहिर आउने बताए । ‘प्रहरीले गैर व्यवसायिक काम गरेपछि कारबाही हुन्छ नै त्यसमा कुनै दुई मतै भएन,’ उनले भने, ‘तर प्रहरीले कुटपिट गर्नेसम्मको अवस्था कसरी सिर्जना भयो भन्ने पाटो पनि महत्वपूर्ण छ किनकी अहिलेको समयमा प्रहरीलाई पनि मनोबल घटाउने गरी कारबाही हुनु उचित हुँदैन ।’ अनुसन्धानपछि आएको सत्यतथ्यको आधारमा दोषीलाई कारबाही हुने डीएसपी राईले बताए ।