खर्च हुन नसकेको डेढ करोड रुपैयाँ अस्पताललाई दिने सांसद राई

पूर्वमन्त्री एवम् बाँके क्षेत्र नं २ का सांसद मोहम्मद इस्तियाक राईले स्थानीय विकास पुर्वाधार साझेदारी विकास कार्यक्रम अन्तर्गतका तीनवटा योजनाको रकम भेरी अस्पताललाई प्रदान गरेका छन्। कोरोना भाइरसको प्रभावका कारण काम हुन नसकेको डेढ करोड रुपैयाँका योजनाको रकम उनले भेरी अस्पताललाई दिएका हुन्।

करबला कब्रिस्तान मदरसाहरुको भौतिक पुर्वाधारका लागि ५० लाख रुपैयाँ छुट्याए पनि कोराना भाइरसको कारणले काम हुन सकेको थिएन।डुडुवामा रहेको बाल सुधार गृह र प्रहरी अस्पतालका लागि एम्बुलेन्स किन्ने काम पनि हुन सकेको थिएन।

यसका लागि पनि ५० लाख रकम छुट्टाइएको थियो। त्यस्तै अन्य २ वटा मदरसा स्तरोन्नतिका लागि छुट्टाइएको ५० लाख रुपैयाँको आयोजना पनि ठेक्का लाग्न सकेको थिएन।

सांसद राईको संयोजकत्वमा बसेको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको निर्देशक समितिको बैठकले यस्तो निर्णय गरेको हो।
भेरी अस्पताललाई आइसोलेसन वार्डमा लाग्ने भेन्टलेटर किन्न डेढ करोड रुपैयाँ दिने निर्णय भएको पूर्वमन्त्री राईले सेतोपाटीलाई बताए।

स्थानीय विकास पुर्वाधार साझेदारी विकास कार्यक्रम अन्तर्गत खर्च हुन नसक्ने रकमलाई कोभिड १९ विरुद्धको कार्यक्रममा रकमान्तर गर्न सक्ने संघीय सरकारको निर्णय अनुसार यस्तो गरिएको उनले बताए।