गंगाजमुना गाउँपालिकाका इन्जिनियर ९५ हजार रुपैयाँ घुससहित पक्राउ

धादिङको गंगाजमुना गाउँपालिकाका एकजना इन्जिनियर ९५ हजार रुपैयाँ घुससहित पक्राउ परेकी छन् ।

गंगाजमुना गाउँपालिकामा कार्यरत इन्जिनियर पूजा कार्की ९५ हजार रुपैयाँ घुससहित पक्राउ परेकी हुन् । पूर्व सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काठमाडौं (टंगाल)स्थित कार्यालयबाट खटिएको टोलीले इन्जिनियर कार्कीलाई घुस लिइसकेको अवस्थामा उनकै डेराबाट पक्राउ गरेको हो ।

अख्तियारका अनुसार कार्कीले गाउँपालिकाबाट भएको ठेक्का सम्झौताअनुसारको निर्माण कार्य सम्पन्न भएपछि बील भुक्तानी र प्राविधिक परीक्षण प्रतिवेदन तयार पार्न घुस रकम माग गर्दै आएकी थिइन् ।

सेवाग्राहीको सूचनाको आधारमा पुगेको अख्तियारको टोलीले इन्जिनियर कार्कीलाई घुस लिइसकेको अवस्थामा धादिङको गंगाजमुना गाउँपालिका-५ स्थित उनको डेराबाटै पक्राउ गरेको हो ।

९५ हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेकी कार्कीमाथि थप अनुसन्धान भइरहेको अख्तियारका केन्द्रीय प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिएका छन् ।