‘गिरिजा, माधव र प्रचण्ड गणतन्त्र स्थापनाका महानायक हुन’ : वामदेव गौतम

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टीले राजतन्त्रको अन्त्य र गणतन्त्रको नारा तय गर्दाताका झापा संघर्षका तीन नेता त्यसको विरुद्धमा रहेको खुलासा गरेका छन् ।

पार्टी केन्द्रीय कमिटीको बहुमतले उक्त नारा तय गर्दा गणतन्त्रका लागि संघर्ष गर्नुपर्ने भनी आफूले लिखित प्रस्ताव गरेको पनि उनले बताएका छन् ।

‘विडम्बना भन्नुपर्छ, नेकपा एमालेको केन्द्रीय कमिटीको बहुमतले तत्कालीन संघर्षको मुख्य नारा राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना तय गर्दा चर्चित झापा संघर्षका विभिन्न पार्टीमा रहेका मुख्य तीन नेता विरुद्धमा हुनुहुन्थ्यो,’ गणतन्त्र दिवसका अवसरमा शनिबार शुभकामना सन्देश दिँदै गौतमले लेखेका छन् ।

उनले गणतन्त्र स्थापनामा मुख्य भूमिका तीन नेताको रहेको पनि बताएका छन् । ‘वि.सं. २०६५ जेठ १५ गतेको अवस्थामा नेपाललाई पुर्‍याउने युगान्तकारी संघर्षका महानायकहरू भने नेपाली कांग्रेस पार्टीका सभापति गिरिजाप्रसाद कोइराला, नेकपा (एमाले) का महासचिव माधवकुमार नेपाल र नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड) हुनुहुन्थ्यो,’ विज्ञप्तिमा उल्लेख छ ।

राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापनामा हजारौं नेता–कार्यकर्ता तथा जनताको सहादत, त्याग र समर्पण रहेको भन्दै उनले सहिदको सपना साकार पार्नका लागि दृढतापूर्वक अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।