चीनको वुहान सहरले १ करोड १० लाख बासिन्दाको कोरोना परीक्षण गर्ने

काठमाडौं । कारोना भाइरस (कोभिड–१९) को उद्गमस्थल मानिएको चीनको वुहानमा सबै बासिन्दाको परीक्षण गरिने भएको छ । वुहान सहरले १ करोड १० लाख बासिन्दाको परीक्षण गर्ने योजनाको तयार पारेको हो ।

वुहानमा पछिल्लो समय कोभिड–१९ का संक्रमित देखिन थालेपछि परीक्षण विस्तार गर्न लागिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । सन् २०१९ को डिसेम्बर ३१ मा कोभिड १९ देखिएपछि वुहान ११ सातासम्म कडा लकडाउनको अवस्थामा थियो ।

अधिकारीहरूले भाइरस पूर्णरूपमा नियन्त्रणमा आएको भन्दै अप्रिल ८ मा लकडाउन खुला गरेका थिए । त्यसयता वुहानमा शिक्षण संस्था, व्यापार व्यवसाय तथा सार्वजनिक यातायात खुलेपछि जनजीवन सामान्य हुँदै आएको थियो । यो खबर आजको कान्तिपुर दैनिकमा छ ।