चौथो चरणको आन्दोलन थाल्दै नेकपाको दाहाल–नेपाल समूह

प्रतिनिधिसभा (संसद) विघटनविरुद्ध आन्दोलनरत नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले आज (बुधबार)बाट चौथो चरणको आन्दोलन सुरु गर्दै छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते संसद विघटन गरेपछि नेकपाको दाहाल–नेपाल समूहले त्यसकाविरुद्ध निरन्तर सडक आन्दोलन गरिरहेको छ । संसद विघटनको कदमलाई ‘प्रतिगमन’ भन्दै उक्त समूहले आन्दोलन थप चर्काउने निर्णय लिएको हो ।

चौथो चरणका कार्यक्रमअन्तर्गत आजदेखि २१ गतेसम्म जिल्ला स्तरीय विरोध प्रदर्शन, सभा लगायतका विरोध कार्यक्रम हुनेछन् । भोलि राजधानीको टुँडिखेल मानव साङ्लोले घेर्ने कार्यक्रम छ। कार्यक्रम अन्तर्गत फागुन ७ मा सबै वडामा विरोध गरिने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

फागुन ७ देखि १५ गतेसम्म सार्वजनिक स्थलहरूमा हस्ताक्षर संकलन गर्ने उनले बताए। नेकपाको यो समूहले गत माघ २८, माघ ९ र पुस १३ मा काठमाडौंमा प्रदर्शन गरेको थियो। काठमाडौँबाहिर प्रदेश १ को विराटनगर, बुटवल, सुर्खेत र धनगढीमा पनि प्रदर्शन र विरोध भएका थिए ।

झन्डै दुईतिहाई मत पाएर सरकारको नेतृत्व गरिरहेको नेकपा संसद विघटनपछि दुई समूहमा विभाजित बनेको छ । एउटा समूहको नेतृत्व ओली र अर्को समूहको नेतृत्व दाहाल–नेपालले गरिरहेका छन् ।