जेठ ५ गतेपछि क्वारेन्टाइनमा रहेका व्यक्तिहरुलाई घर पठाइने

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले जेठ ५ गतेपछि क्वारेन्टाइनमा रहेका व्यक्तिहरुलाई घर पठाइने बताउनुभएको छ । १४ दिन क्वारेन्टाइनमा बसेकाहरुको हकमा आरडिटी र अन्यको हकमा पिसिआर परीक्षण गरी रिपोर्ट नेगेटिभ आए घर पठाइने उहाँले बताउनुभयो । अहिले देशभरीका क्वारेन्टाइनमा १५ हजार ६ सय जना रहेका छन् । मन्त्री ढकालले उनीहरुको सबैको परीक्षण गरी घर पठाइने बताउनुभएको हो ।

१४ दिनसम्म क्वारेन्टाइनमा बसेकाहरुको हकमा आरडिटी परीक्षण र १४ दिन समय नपुगेकाहरुको हक पिसिआर परीक्षण गरी रिपोर्ट नेगेटिभ आएपछि घर पठाइने छ । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समिति बैठकमा सांसदहरुको जिज्ञासामा मन्त्री ढकालले भन्नुभयो, ‘क्वारेन्टाइनमा रहेका व्यक्तिहरु १४ दिन पुगेकाहरुको हकमा आरडिटी र नपुगेकाहरुको हकमा पिसिआर वा अस्पतालको जिम्मा लगाउने तयारी भएको छ । ५ गतेपछि रिपोर्ट नेगेटिभ आएकाहरु घर पठाइन्छ ।’

मन्त्रालयका अनुसार अहिले देशभरी ५३ हजार ८ सय ३५ जनालाई राख्न सक्ने क्षमताको क्वारेन्टाइनहरु स्थापना भएका छन् । अहिले देशभरी २ सय ७२ जना आइसोलेसनमा रहेका छन् । प्रदेश नम्बर १ मा २१, प्रदेश नम्बर २ मा १ सय १, बागमति प्रदेशमा ३६ (उपत्यकामा ६ सहित), गण्डकीमा १ र प्रदेश नम्बर ५ मा १ सय १२ जना आइसोलेसनमा रहेका छन् ।संक्रमित र सम्भावित संक्रमित व्यक्तिहरु आइसोलेसनमा उपचाररत रहेका छन् ।