देउवाले भने- आन्दोलन गर्न पैसा छैन, मान्छेलाई जबर्जस्ती ल्याउन पनि सक्दैनौं

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलन गर्न आफूहरुसँग पैसा नभएको बताएका छन् ।

अहिले अदालतमा विचाराधीन रहेका मुद्दालाई जुलुस देखाएर प्रभावित गर्न खोज्नु उपयुक्त नभएको बताउँदै देउवाले जुलुस हेरेर फेसला गर्ने अवस्था आए कांग्रेसले जुलुस निकाल्न पनि नसक्ने बताए ।

‘जुलुस निकाल्न हामीसँग पैसा छैन । मान्छेहरुलाई जवरजस्ती बोलाउन पनि सक्दैनौं,’ बिहीबार कास्कीको पोखरामा आयोजित नेपाल मगर संघको प्रथम गण्डकी प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै देउवाले भने ।

देउवाले हठात प्रतिनिधि सभा विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई ध्रुवीकरणमा लगेको पनि बताए ।

अहिले देश संसद पुनःस्थापनाको पक्ष र विपक्षमा बाँडिएको बताउँदै आफूहरु (कांग्रेस)लाई अदालतले गर्ने फैसला स्वीकार्य हुने बताए ।

‘अदालतले पुनःस्थापना गर भन्यो भने पनि स्वीकार गर्छौं, चुनाव गर भन्यो भने पनि स्वीकार गर्छौं,’ देउवाले भने ।

शेरबहादुर देउवाले विरोध प्रदर्शन र जुलुस प्रदर्शन गरेर विचाराधीन मुद्दामा अदालतलाई यसो गर, उसो गर भनेर भन्न नहुने पनि दोहोर्‍याए ।