देउवा र नेपालबीचको छलफल सकियो, के भयो कुराकानी ?

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल भएको छ । बिहीबार साँझ नेपालले आफू निकट केही नेतासहित देउवा निवासमा पुगेर छलफल गरेका हुन् । उनीहरुबीच करिब एक घण्टा बढी छलफल भएको थियो ।

काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणका अनुसार देउवा र नेपालबीच सैद्धान्तिक छलफल भएको हो । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीको टोलीसहित भेटवार्ता भएपछि बिहीबार नेपाल पक्षले देउवासँग भेटवार्ता गरेको हो ।

प्रधानमन्त्री ओलीले बैशाख २७ गते विश्वासको मत लिन लागेका बेला त्यसलाई विफल पार्न आवश्यक रणनीति बनाउने विषयमा उनीहरुबीच छलफल भएको बुझिएको छ । नेपाल देउवासँगको छलफल सकेर राष्ट्रपति भेट्न शीतल निवास पुगेको स्रोतले जनाएको छ ।