नेपाली भूमि मिचिएको भन्दै प्रदर्शन गर्ने पाँच जना भोजपुर प्रहरीको नियन्त्रणमा

भोजपुर, ३१ बैशाख । छिमेकी राष्ट्र भारतले नेपाली भूमि लिपुलेक हुँदै तिब्बतको मानसरोबर पुग्ने सडक निर्माण गरेर उद्घाटन गरेपछि देशैभर लकडाउनका बीच पनि विभिन्न विरोध प्रदर्शनहरु भइरहेको छ ।

यसैबीच वुधबार भोजपुरमा पनि भोजपुरे देशभक्त राष्ट्रवादी जनपक्षीय युवाले विरोध प्रदर्शन गरेका छन् । “अतिक्रमित भूभाग फिर्ता गर“, “कालापानी लिपुलेक हाम्रो हो“ लगायतका नारा लेखिएको पर्चा सहित साङकेतिक विरोधमा उत्रिएकाहरु भोजपुरस्थित डाँडावजारबाट पक्राउ परेका हुन।

जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार पक्राउ पर्नेहरुमा भोजपुरे देशभक्त राष्ट्रवादी जनपक्षीय युवामञ्चका संयोजक गोपाल मोक्तान, नागरिक समाज भोजपुरका संयोजक पर्शुराम तिवारी, नेविसंघ भोजपुरका सचिव कमलजंग वस्नेत, न्यायशील असल शासन क्लव भोजपुरका अध्यक्ष फविन्द्र प्रधान, पूर्व यायोख्खा जिल्ला अध्यक्ष पाविहाङ राई रहेका छन् ।

लिपुलेकमा नेपाली भूमि अतिक्रमणको विरोध गर्न युवाहरु केही पम्प्लेटसहित जम्मा भएका थिए । अहिले उनीहरुलाई जिल्ला प्रहरी कार्यालय भोजपुरमा राखिएको छ ।