नेपाली सेनाका पिटर थापा बेलायती प्लाटुन कमान्डर्स ब्याटल कोर्समा उत्कृष्ट

शिक्षणका लागि बेलायतमा रहेका नेपाली सेनाका एक अधिकृतले अर्को सफलता प्राप्त गरेका छन् । नेपाली सेनाका २१ वर्षीय सेकेन्ड लेफ्टिनेन्ट पिटर थापा वेल्सको ब्रेकनस्थित इन्फेन्ट्री ब्याटल स्कुलमा भएको प्लाटुन कमान्डर्स ब्याटल कोर्स (पीसीबीसी) २००३ मा टप इन्टरनेसल स्टुडेन्ट घोषित भएका हुन् ।

गत १८ जनवरी २०२१ देखि ३० अप्रिल २०२१ सम्म भएको तीन महिने उक्त कोर्समा आयरल्यान्ड, कोसोभो, हंगेरी, स्कटल्याण्ड र नेपालबाट सैनिक अधिकृतहरु सहभागी थिए ।प्लाटुन कमान्डिङ जस्तो चुनौतिपूर्ण कोर्समा आफ्नो इन्फेन्ट्री स्किल देखाउन नेपाली सैनिक अधिकृतहरु विगतमा देखि नै सफल भएकाले यसले नेपालको छवि विश्वमा उचो बनेको थापाले बताए ।

आउँदो जुलाई अन्त्यतिर नेपाल फर्कनुअघि थापाले अब कमान्डो कोर्स गर्ने छन् । बेलायतको रोयल मरिनले सञ्चालन गर्ने अल आर्मी कमान्डोले उक्त कोर्स गराउने थापाले बताए ।

यसअघि बेलायतको स्यान्डहर्स्टस्थित रोयल मिलिट्री एकेडेमीमा तालिमका क्रममा थापाले उत्कृष्ट क्षमता प्रदर्शन गरेर ‘इन्टरनेसनल सोर्ड अफ अनर’ अवार्ड पाएका थिए । २० वर्षयता नेपाली क्याडेटले उक्त अवार्ड पाएको यो पहिलो हो । ४४ साताको उक्त प्रशिक्षणमा विश्वका विभिन्न मुलुकका ३३ क्याडेट सामेल थिए ।

यसबाहेक थापाले प्लाटुन कमान्डर पाससमेत पाएका थिए । ब्रिटिस अफिसर क्याडेटलाई तालिम दिन योग्य उक्त ‘इन्स्ट्रक्टर पास’ नेपाललाई पहिलोपटक दिइएको हो । थापा कुनै पनि बेला रोयल मिलिट्री एकेडेमी स्यान्डहस्र्ट आएर ब्रिटिस क्याडेटलाई २ वर्षसम्म प्रशिक्षण दिन सक्नेछन् । थापा बेलायती सेनाको एउटा मात्र कोटामा छानिएर तालिममा आएका हुन् ।

दुई वर्षअघि मात्र नेपाली सेनामा भर्ती भएका धादिङ त्रिपुरासुन्दरी नगरपालिका निवासी थापाले बेलायतमा लिएको विभिन्न कोर्सले आफ्नो क्षमता अभिवृद्धि हुनुका साथै बेलायती सेनाको कार्यशैली र रणनीति बुझ्ने अवसर पाएको बताए । ‘विभिन्न देशका उच्च दर्जाका सैनिकहरुसँगको अन्तरक्रियाले अन्तर्राष्ट्रिय सम्बन्धबारे धेरै ज्ञान हासिल गर्न समेत पाएँ,’ उनी भन्छन् ।