‘पिटाइ खाइखाइ काममै छौं’ लेखिएको प्लेकार्ड बोकेर स्वास्थ्यकर्मीको प्रदर्शन

बाँकेस्थित भेरी अस्पताल नेपालगञ्जमा कार्यरत डाक्टर, नर्स तथा स्वास्थ्यकर्मीले बिहीबार बेलुका पनि अस्पताल परिसरमा शान्तिपूर्ण रुपमा प्रदर्शन गरेका छन्।

१३ गते राति एक जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएपछि आफन्तले त्यहाँ कार्यरत डाक्टर र नर्सहरुमाथि आक्रमण गर्नुका साथै अस्पतालभित्र तोडफोड पनि गरेका थिए।

त्यसको विरोधमा हरेक दिन साँझ ५ बजेदेखि ६ बजेसम्म अस्पतालका डाक्टर तथा नर्सहरुले दोषीमाथि कारवाहीको माग गर्दै शान्तिपूर्ण प्रदर्शन गर्दै आएका हुन्।

बिहीबारको प्रदर्शनमा सहभागी स्वास्थ्यकर्मी तथा चिकित्सकहरुले पिटाइ खाई खाई पनि काममै छौं, दोषीलाई कडा भन्दा कडा कारवाही गर, स्वास्थ्य सुरक्षा ऐन लागू गर भन्ने जस्ता प्लेकार्ड छातीमा टाँसेका थिए।

‘सेवा छोडेर कोही पनि प्रदर्शनमा सहभागी हुँदैनौं,’ एकजना नर्सले भनिन् ‘सबैलाई स्वेच्छिक रुपमा आउन भनिएको छ र काम सकेकाहरु मात्रै त्यसमा सहभागी हुन्छौं।’

घटनापछि गठन गरिएको छानविन समितिले ४ दिन लगाएर बुधबार मात्रै बुझाएको प्रतिवेदन स्थानीय प्रशासनले सार्वजनिक गरेको थियो। जसमा अस्पतालको कमजोरीले गर्दा आवेगमा आइ डाक्टर, नर्समाथि आक्रमण भएको उल्लेख छ।

सार्वजनिक प्रतिवेदन प्रति पीडित डाक्टर तथा नर्सहरुले असहमति जनाएका छन्।