प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध , स्वतन्त्रतामाथि हस्तक्षेप गर्‍याे भनेर सोच्दापनि पाप लाग्छ : पार्वत गुरूङ

सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले पत्रकार महासंघ सत्तापक्ष र प्रतिपक्ष हुन नहुने बताउनु भएकाे छ । पत्रकार महासंघको २५ औं महाधिवेशनलाई बुधबार सम्बोधन गर्ने गर्दै मन्त्री गुरुङले भन्नुभयाे – ‘पत्रकार सत्ता र प्रतिपक्ष जस्ताे भूमिका निर्वाह गरेर जानुहुँदैन, के उद्देश्यका लागि महासंघ स्थापना भएकाे हाे त्याे लक्ष्यतर्फ प्रशिक्षित हुनुपर्छ त्यतातिर ध्यान दिनुपर्छ ।’

पत्रकार महासंघ रचनात्मक, सृजनात्मक हुनुपर्ने भन्दै उहाँले अब पत्रकारले आन्दाेलन गर्ने दिन अन्त्य भएकाे कुरा पहिला नै बताइसकेकाे जानकारी दिनुभयाे । महासंघकाे नारा पूरा गर्न र महासंघलाई सघाउन मन्त्रालय तयार रहेकाे पनि बताउनुभयाे ।

मन्त्री गुरूङले ५ वर्षसम्म प्रेसपास नविकरण गर्न नपर्ने व्यवस्था मिलाउन लागिएकाे पनि उहाँले बताउनुभयाे । अहिले १-१ वर्षमा प्रेस पास नविकरण हुने व्यवस्था छ । सूचना विभागबाट हुने झन्झटिलो कामलाई सहज बनाउन आफु लाग्ने मन्त्री गुरूङले बताउनुभयाे । श्रमजीवि पत्रकार ऐन लागू गर्न महासंघसँग सहकार्य गर्न तयार रहेकाे पनि उहाँले बताउनुभयाे ।

मन्त्री गुरुङले अनलाइन र केवल टिभीलाई पनि लोककल्याणकारी विज्ञापनको सुविधा दिइने पनि उहाँले बताउनुभयाे । पत्रकारले माग गरेका विगतका एजेण्डा आफ्नै कार्यकालमा पूरा गर्ने प्रतिबद्धता पनि जनाउनुभयाे ।

सञ्चार क्षेत्रलाई जवाफदेही र सम्मानित बनाउन आगामी वर्षको नीति तथा कार्यक्रममा प्रशिक्षण प्रतिष्ठान निर्माण गर्ने बताउनुभयाे ।व्यक्ति तथा घरैपिच्छे अनलाइन खुलेकाले लोककल्याणकारी विज्ञापन पाउन नसकेकाे भन्दै उहाँले त्यसका लागि सरकारले कार्यविधि बनाउने बताउनुभयाे । प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध रहेको भन्दै उहाँले सञ्चार क्षेत्रलाई व्यवस्थित बनाउन आफू लागिपरेको पनि बताउनुभयाे ।

सरकारले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गरेको भनेर सोच्दापनि पाप लाग्ने बताउँदै उहाँले भन्नुभयाेे – ‘आमसञ्चार क्षेत्रलाई कसरी सम्मानित र जवाफदेही बनाउने भन्नेतर्फ मेरो अर्जुन दृष्टि छ, अहिलेको सरकार निरंकुश भयो, प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्‍याे भनेर सोच्दापनि पाप लाग्छ,विगतमा जे भएपनि म मन्त्री भइसकेपछि सञ्चार मन्त्रालयबारे नकारात्मक कुरा गर्न माैका दिएको छैन ।’