भागरथी हत्याको अनुसन्धानमा खटिने २ जना प्रहरी बढुवा

बैतडीकी किशोरी भागरथी भट्टको हत्या प्रकरणमा नेपाल प्रहरीले २ जना प्रहरी कर्मचारीलाई एक तह बढुवा गरेको छ भने अन्य ५ जना प्रहरी कर्मचारीलाई नगद पुरस्कारले पुरस्कृत गरेको छ।उत्कृष्ट काम गर्ने सुदूरपश्‍चिम प्रदेश प्रहरी कार्यालय दिपायलमा कार्यरत प्रहरी सहायक निरीक्षक पदम बहादुर थापालाई प्रहरी नायव निरीक्षकमा र ईलाका प्रहरी कार्यालय राजापुर बर्दियामा कार्यरत प्रहरी जवान नर बहादुर थापालाई प्रहरी हवल्दार पदमा बढुवा गरेको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको हो।

उनिहरुलाई कार्य कुशलताको कदरस्वरुप प्रहरी नियमावली २०७१, (संशोधन सहित) परिच्छेद (४ं) को नियम ३९ को देहाय (क) बमोजिम एकतह माथिल्लो पदमा पदोन्नति गरिएको हो ।

उनिहरुमध्ये प्रहरी नायव निरीक्षक पदम बहादुर थापाले बैतडी दोगडाकेदार गाउँपालिका–७ चडेपानीस्थित सनातन माध्यामिक विद्यालय बैतडीमा अध्ययनरत १७ वर्षका भागरथी भट्टको गत माघ २१ गते जबरजस्ती करणी पछि हत्या भएको घटनामा महत्वपुर्ण भूमिका निर्वाह गरेका थिए।

त्यस्तै उनले कैलालीको धनगढी उपमहानगरपालिका–१० जुगेडास्थित अस्थाई प्रहरी पोष्टमा कार्यरत प्रहरी सहायक निरीक्षक गोबिन्द विक तथा प्रहरी जवान रामबहादुर साउँदलाई तस्करको समूहले गत कात्तिक १ गते हत्या गरेको घटना र कञ्चनपुर पुनर्वास नगरपालिका–१ बस्ने ७१ वर्षका खण्टी भुलको गत पुस ११ गते भएको हत्यामा संलग्न प्रतिवादीलाई पक्राउ गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

प्रहरी हवल्दार नर बहादुर थापाले माथीका तीन वटै घटना तथा बझाङ मष्टा गाउँपालिकामा बालिका सम्झना विकको जबरजस्ती करणीपछि हत्या भएको घटना अनुसन्धानमा सक्रिय रुपमा खटिई प्रतिवादीलाई पक्राउ गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

बैतडी दोगडाकेदारकी भागरथीको गत माघ २१ गते जबरजस्ती करणी पछि हत्या भएको घटनाको सफल अनुसन्धान तथा घटनामा संलग्न अभियुक्तलाई पक्राउ गर्ने कार्यमा खटिएका ५ जना प्रहरी कर्मचारीहरुलाई नगद पुरस्कार प्रदान गरिएको छ।

नगद पुरस्कार पाउनेमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका प्रमुख प्रहरी नायव महानिरीक्षक उत्तम राज सुवेदी, जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक नारायण प्रसाद अधिकारी, प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो दरवन्दीका प्रहरी नायव उपरीक्षक पञ्चकुमार बाखु, महानगरीय प्रहरी कार्यालय रानीपोखरी परिचालन कक्ष दरवन्दीका प्रहरी नायव निरीक्षक दुर्गाकुमार योञ्जन र प्रहरी चौकी हिकिला दार्चुला दरवन्दीका प्रहरी जवान अशोकबहादुर कुँवर रहेका छन्।