मनकारी वडाध्यक्ष : अस्पताल बनाउन ९ रोपनी जमिन र संक्रमित राख्न घर दिए

रिब्दीकोट गाउँपालिका –३ खस्यौलीका वडाध्यक्ष विष्णुप्रसाद खनालले खस्यौली प्राथमिक स्वास्थ्य केन्द्रलाई ९ रोपनी बढी जमिन दिएका छन्।

केन्द्रको भवन निर्माणका लागि ९ रोपनी २ आना जमिन दिएका हुन्। करिब डेढ करोड पर्ने जमिन निशुल्क दिएका छन। स्वास्थ्य चौकीबाट प्राथमिक स्वास्थ्य केन्द्रको रुपमा स्तरोन्नति हुने भएपछि २०५४ सालमा ६ रोपनी जमिन दिएका थिए। पछिल्लो समयमा सरकारको अवधारणा अनुसार गाउँपालिकास्तरको १० शय्याको अस्पताल बन्ने भएपछि थप ३ रोपनी जमिन दिएका हुन्।

प्राथमिक स्वास्थ्य केन्द्रलाई नै गाउँपालिका स्तरको अस्पतालमा रुपान्तरण गर्न थालिएको छ। यसको लागि ७ रोपनी २ आना जमिन आवश्यक पर्छ। साढे १ आना जमिन भए पुग्ने थियो। तर वडाध्यक्ष खनालले थप ३ रोपनी जमिन दिएका छन्। आगामी दिनमा समेत अस्पताललाई जमिनको अभाव नहोस् भनेर आफूले मागभन्दा बढी जमिन उपलब्ध गराएको उनले बताए।

हाल यहाँ प्राथमिक स्वास्थ्य केन्द्रमार्फत नागरिकलाई स्वास्थ्य सुविधा उपलब्ध हुँदै आएको छ। यहाँ सामान्य खालको शल्यक्रिया, विभिन्न रोगको परीक्षण गर्ने प्रयोगशाला, मुटु जाँच गर्ने इसिजी मेसिन, भिडियो एक्सरेको व्यवस्था छ।

केन्द्र आफैले फार्मेसीसमेत संचालन गर्दैै आएको अस्पतालका प्रमुख डाक्टर सचु थापाले बताइन्। उनका अनुसार यहाँ चौबिसै घण्टा उपचार हुँदै आएको छ। यस केन्द्रबाट पाल्पाका पश्चिम भेग, अर्घाखाँचीको पूर्वी भेग, गुल्मी, स्याङ्जा र बागलुङका बिरामीले समेत सेवा लिदै आएका छन्।

खस्यौली स्वास्थ्य केन्द्र कार्य सम्पादन मूल्यांकनमा लुम्बिनी प्रदेशमा पहिलो र देशैभरी दोस्रो बन्न सफल भएको छ।

सबैलाई पायक पर्ने ठाउँमा अस्पतालको लागि जमिन खरिद गर्न खोज्दा समेत नपाएको गाउँपालिका अध्यक्ष नारायणबहादुर जिसीले बताए। वडाध्यक्षले जमिन उपलब्ध गराएपछि अस्पताल बनाउन सहज भएको उनले सुनाए।

‘आम मानिसको जीवनलाई महत्व दिएर यति धेरै जमिन निःशुल्क दिनुभएको छ। उहाँले जनताप्रति देखाएको उदारता उदाहरणीय छ। गाउँपालिकाको तर्फबाट धन्यवाद दिन चाहन्छौं,’ जिसीले भने। व्यक्तिले गरेको सहयोगले सरकारलाई काम गर्ने दबाब बढेको उनले बताए।

यहाँ पालिकास्तरको अस्पताल निर्माणको लागि १२ करोड बढी बजेट विनियोजन भएको छ। चालु आर्थिक वर्षमा बोलपत्र आव्हान भएर योजना सम्झौताको काम सम्पन्न हुने जिल्ला आयोजना कार्यान्वयन इकाइ भवन पाल्पाका प्रमुख टीका थापाले बताए।

वडाध्यक्ष खनालले कोरोना अस्पताल बनाउन घर दिएका छन्। गाउँपालिकाले कोरोना अस्पताल निर्माण गरेर संक्रमितको उपचार गर्दै आएको छ। नेपालमा कोरोना महामारी फैलिएपछि नै उनले घर दिएका हुन्।

गत वर्षदेखि नै यहाँ कोरोना अस्पताल निर्माण गरी तयारी अवस्थामा राखिएको थियो। विनाशर्त निःशुल्क आफूले घर दिएको खनालले बताए। कोरोना महामारी नियन्त्रण नहुँदासम्म र संक्रमितलाई राख्नको लागि आवश्यक पर्ने समयसम्म घर उपलब्ध गराउने उनले बताए। अहिले यहाँ कोरोना संक्रमित राखेर उपचार हुँदै आएको छ। वडाध्यक्षले विद्युत कार्यालय स्थापनाको लागि पनि १२ आना जमिन निशुल्क उपलब्ध गराएका छन्।