मनाङमा बाढी : अस्थायी पुल र लघु जलविद्युत बगायो

हिमाली जिल्ला मनाङमा आएको बाढीले अस्थायी काठका पुल बगाएको छ। बिहीबार दिउँसो वर्षासँगै आएको बाढीले पुल बगाउँदा बेसीशहर–चामे सडक खण्डअन्तर्गत चामे गाउँपालिका-१ तिमाङखोला र स्यार्कुखोलाको काठेपुल बगाएको हो।

पुल बगाउँदा अत्यावश्यक सवारीसाधन अलपत्र परेको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए।

प्रजिअ लामिछानेका अनुसार तिमाङखोलाको अस्थायी काठे पुल र स्यार्कुखोलामा रहेको ह्युमपाइपसहितको काठेपुल बगाएको छ। पुल बगाएपछि तिमाङ क्षेत्रबाट सवारीसाधन तल्लो क्षेत्र आउन र माथिल्लो क्षेत्र जान सकेका छैनन्। दुईवटा पुल बगाएपछि तत्कालका लागि आवतजावत बन्द भएको स्थानीय कमल गुरुङले बताए।

तिमाङखोलाको काठेपुल गत वर्षको बाढीले पनि बगाएको थियो। निरन्तरको वर्षासँगै आएको बाढीले तिमाङखोलामा निर्माण गरिएको बेलिब्रिज पुलसमेत जोखिममा रहेको छ। मनाङ सडकअन्तर्गत पर्ने अधिकांश खोलामा काठेपुलकै भरमा यात्रा गर्नुपर्ने बाध्यता छ।

गुरुङका अनुसार बाढीले स्यार्कुखोला लघु जलविद्युत आयोजनाको ३० मिटर कुलो, बाँध, ह्युमपाइप, घट्टासमेत बगाएको छ। पानीको बहाब अझै घटेको छैन बर्षा पनि रोकिएको छैन त्यसैले सबैलाई सतर्क रहन अनुरोध गर्दछु।