माधव कमरेडले आँट गरेर पार्टी विभाजन गरे मेरो पूर्ण समर्थन हुन्छ : वामदेव गौतम

नेकपा एमालेका नेता वामदेव गौतमले वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी विभाजन गरे आफूले साथ दिने ‘बचन’ दोहोर्‍याएका छन्।

नेता नेपालले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँग सम्बन्ध विच्छेद गरे साथ दिने बताउँदै आएका गौतमले बिहीबारको एक भर्चुअल छलफलमा पनि आफ्नो पुरानै कुरा दोहोर्‍याएका हुन्।

गौतमले बिहीबार राजनीतिक विश्लेषक, बुद्धिजीवी र कार्यकर्तासंग भर्चुअल छलफल गरेका थिए। छलफलमा सहभागी एक बुद्धिजीविका अनुसार नेता गौतमले ओलीलाई साथ दिन नसकिने बताएका छन्।

ओलीले फेरि पनि प्रतिनिधि सभा विघटन गरेर एकपछि अर्को गर्दै प्रतिगमन निम्याएकाले साथ दिन नसक्ने नेता गौतमको भनाइ थियो। ‘केपी कमरेडले एकपछि अर्को गर्दै प्रतिनिधि सभा विघटन गरेर प्रतिगमनको यात्रामा हुनुहुन्छ। त्यस्तो अवस्थामा उहाँलाई साथ दिन सक्दिन,’ गौतमको भनाइ उद्धृत गर्दै भर्चुअल छलफलमा सहभागी ती बुद्धिजीविले भने, ‘माधव कमरेड कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने भनेर हस्ताक्षर गर्दै हिड्नु भएको छ। यस्तो अवस्थामा दुवै जनालाई साथ दिन सक्दिन। यदि माधव कमरेडले आँट गरेर पार्टी विभाजन गरे त्यसमा मेरो पूर्ण साथ समर्थन हुन्छ। त्यो मैले भनिसकेको छु। आफ्नो बचनबाट दायाँबायाँ हुन्न।’

नेपालले छुट्टै पार्टी बनाएर विचार मिल्नेसँग चुनावी मोर्चाबन्दी वा कार्यगत एकता गरेर जान सकिने गौतमले तर्क छ। ओलीसँग सम्बन्ध विच्छेद गरेर माओवादीसँग एकता गर्दा राम्रो नहुने भएकाले तत्काल छुट्टै पार्टी बनाएर मार्चाबन्दी गर्दा राम्रो हुने गौतमको भनाइ छ।

माधव नेपालले पार्टी फुटाउने आँट नगरेमा आफू एमाले मात्रै नभएर बृहत वाम एकतामा आफ्नो अभियान जारी राख्ने पनि गौतमले बताए। गौतमले आफू राष्ट्रिय सभा सदस्य भएकोमा समेत ‘रियलाइजेसन’ (गल्ती महसुस) गरेका छन्। राष्ट्रिय सभामा जानका लागि आफूले धेरै जोडबल नगरेको भए हुन्थ्थो भनेर गौतमले गल्ती महसुस गरेका भर्चुअल छलफलमा सहभागी गौतम निकट अर्का एक नेताले जानकारी दिए।

राष्ट्रिय सभामा जानका लागि गरिएको जोडबलका कारण आफ्नो राजनीतिक छवि धुमिल बन्न पुगेको गौतमले स्वीकार गरेका छन्। सोही बैठकमा बुद्धिजीवीहरुले तत्कालीन नेकपामा कहिले ओलीतिर त कहिले प्रचण्ड माधवतिर हुँदा समस्या परेका भनेर गौतमलाई स्मरण गराएका थिए।

‘तपाईं तत्कालीन नेकपामा प्रभाशावली नेता हुनुहुन्थ्यो। त्यतिबेला स्ट्याण्ड लिएर एक ठाउँमा उभिनु भएन। कहिले प्रचण्ड–माधवतिर, कहिले ओलीतिर हुनुभयो। कतै नलागेर एकता भन्दै वीचधारमा उभिएर सबै नेता कार्यकर्ता लाखापाखा लागे’, भर्चुअल बैठकमा गौतमप्रति एक वामबुद्धिजीविको टिप्पणी थियो, ‘पार्टीमा धेरै यताउता गर्दा अहिले एक्लै पर्नुभयो। अब एउटा स्ट्याण्डसहित स्पष्ट दृष्टिकोणका साथ अघि बढ्नुहोस्।’

स्पष्ट दृष्टिकोणका साथ अघि बढेमा सबैलाई समेटेर वाम धुर्वीकरण गर्न सकिने भनेर वाम बुद्धिजीवीहरुले गौतमलाई सुझाव दिएका छन्। भर्चुअल बैठकमा गौतमले पुष्पकमल दाहाल‘प्रचण्ड’ले कार्यकारी अध्यक्ष पद लिँदा तत्कालीन नेकपा विभाजनको अवस्थामा पुगेको भन्दै असन्तुष्टि समेत पोखेका छन्।