लकडाउनमा नक्कली कार्ड र बहाना गरेर हिँड्ने सर्वसाधारणदेखि प्रहरी नै हैरान

बुधबार दिउँसो नयाँ बसपार्कको चेक प्वाइन्टमा पुग्दा मोटरसाइकलामा रहेका युवा प्रहरीले तयार गरेको घेराभित्र थिए । केहीलाई प्रहरीले रोक्दै पठाइरहेको थियो भने केहीलाई त्यही उभ्याइएको थियो । उनीहरुलाई त्यही रोक्नुको एकमात्रै कारण, उनीहरुले निषेधाज्ञा उल्लंघन गरेका थिए ।

ती युवाहरुले आफू बाहिर हिँड्नुको कारण पुष्टि गर्न सकेका थिएनन् । घेराभित्र रहेका एक युवक भन्दै थिए, ‘साथीकोमा हिँडेको फन्दामा परियो । ननिस्किनुपर्ने रहेछ ।’
निषेधाज्ञाको समयमा विभिन्न वहाना गरेर हिढ्नेलाई रोकेर आफूहरुले कारवाही गरेको महानगरिय ट्राफिक प्रहरी वृत महाशाखा नयाँ बसपार्क बाट खटिएका खटिएका प्रहरी अधिकारीले बताउनुभयो।

उहाँले भन्नुभयो, ‘कोही मिति सकिएको चेक बोकेर पैसा निकाल्न बैंक हिडेको भनेर बहाना गर्नेछन्, कसैले अरुको कार्ड बोकेर हिडेको पनि पाइएकाले होल्डमा राखेका हौँ । सम्झाई बुझाई गरेर हामीले उहाँहरुलाई छोड्ने गर्छौ । कतिपय अत्यावश्यक कामका लागि नै हिडेको पाएका छौँ । अस्पताल हिँडेका र अन्य कर्मचारीहरुलाई हामीले छाडेका छौँ । तर बहाना बनाएर हिडेकाहरुलाई हामी होल्ड गराउछौं । त्यसकारण हामीलाई समस्या खडा भएको छ।’

काठमाडौं उपत्यकामा कोरोना महामारी दिनदिनै भयावह किसिमले बढ्दै जाँदा सर्वसाधारणले त्यति धेरै सजगता भने अपनाइएको पाइएन । मुख्यगरी चक्रपथ, नयाँ बसपार्क आसपासका क्षेत्रमा सवारी साधनहरू निषेधाज्ञामा पनि बाक्लै मात्रामा चलिरहेका छन् ।

खानेपानी, खाद्यान्न, औषधि लगायतका सामग्री ढुवानी गर्ने सवारीहरू चलेकाले सवारीको चाप बढेको ट्रफिक प्रहरीहरूको भनाइ छ । कतिपय सवारी साधन रोकेर सोध्दा साथीभाई भेट्न हिँडेको वा यस्तै कुनै बहाना बताउने गरेको महानगरीय प्रहरी प्रभाग गोंगबुका इन्सपेक्टर रमेश विष्टले बताउनुभयो ।

गोंगबु र नयाँ बस पार्कको अगाडि निषेधाज्ञा उल्लघंन गर्नेहरुलाई उभ्याएर होल्ड गराइने इन्सपेक्टर विष्टले बताउनुभयो। महानगरीय प्रहरी प्रभाग गोंगबुले ३ दिनमा अनुमतिविनै हिँडेका ७० सवारीहरूलाई नियन्त्रणमा लिएको उहाँले बताउनुभयो ।

उहाँले प्रहरीलाई ढाँटेर बहाना गरेर हिँड्ने सर्वसाधारणका कारण निषेधाज्ञा कार्यान्वायनमा चुनौती थपिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘कतिपय सर्वसाधारणहरु जिल्ला प्रशासन कार्यालयको पास भन्दै प्राइभेट इस्टिच्युडहरुको कार्ड देखाउनुहुन्छ । कतिपय आफू नै कोरोना संकमित हुँ भन्दै आउनुहुन्छ । कतिपय बिरामी अस्पताल हिडेको भन्नुहुन्छ । अत्यावश्यक र अस्पताल हिँडेकालाई हामीले छोड्ने गरेका छौँ । तर उहाँहरु सबै अत्यावश्यक काममै हिँडेको विश्वास भने हामीलाई हुँदैन । यदि उहाँ कोरोना पोजेटिभ भए एक्लै हिँड्नु हुन्नथियो होला । परीवारको माया वा साथ हुन्थ्यो । कसैलाई उहाँहरुले लिएर हिँड्नुहुन्थ्यो । यसले हामीलाई निषेधाज्ञा कार्यान्वयनमा चुनौती थपेको छ ।’

सातदोबाटोतिर पनि उस्तै

उता महानगरीय ट्राफिक प्रहरी परिसर सातदोबाटोले पनि बहाना गरी निषेधाज्ञा उल्लंघन गर्ने सर्वसाधारणहरु धेरै रहेकाे भन्दै नियन्त्रणमा लिन चुनाैती बढेकाे जनाएको छ । परिसरका इन्सपेक्टर नरेशबहादुर शाहीले २-३ दिनअघि नक्कली मिडिया कार्ड, कार्यालयको नक्कली कार्ड देखाएर हिँड्ने सर्वसाधारणहरु पाइएको बताउन भयो ।

उहाँले निषेधाज्ञा उल्लंघन गर्नेहलाई ७ बजेसम्म बाइक नियन्त्रणमा लिएर कारवाही गरेको पनि बताउनुभयो । त्यस्तै हिँडेर आएका सर्वसाधरणहरुलाई २० मिनेट होल्ड गराएर सम्झाई-बुझाई गर्दै आएको पनि शाहीले बताउनुभयो । कतिपय नक्कली कार्ड लिएर आउनेलाई सम्बन्धित कार्यालयमै पुर्याइदिएको पनि उहाँ बताउनुहुन्छ ।

यद्यपि प्रहरीले गरेको कडाइ र कारवाहीमा पर्ने डरले हिजो र अस्तिको तुलनामा बुधबार उल्लंघन गने सर्वसाधारणहरु अलिक कम पाइएको शाहीले बताउनुभयो ।

छलीछली पसल खुल्ला

मुख्य बजार र रिङ रोडभन्दा भित्रका साना बजार, गल्लीमा पसलहरु निषेधाज्ञामा पनि प्रायः दिनभर खुलै देखिन्छन् । केही पसलहरू पूर्ण रुपमा बन्द भए पनि कतिपय लुकीछिपी खुलै राख्ने गरेकाे देखिन्छ ।
सरकारले मंगलबारबाट अझै कडाइ गर्ने रणनीति अनुसार बिहान ९ बजेसम्म मात्रै पसल सञ्चालन गराउन अनुमति दिएपछि व्यापारीहरुले ठाउँ-ठाउँमा सटर खोलेको पाइएको छ । कुनै ठाउँमा आधा सटर खोलेर सामान दिने गरेको पाएको थियो भने कुनै ठाउँमा खुलमखुल्ला पसल संचालन भइरहेका देखिए । कतिपयले भने प्रहरी आएको बेला बन्द गर्ने र गएपछि पुनः खोल्ने गरेका हुन् ।
उता, प्रहरीले भने आआफ्नो क्षेत्राधिकार तथा कार्य क्षेत्रअनुसार काम गरिरहेको दाबी गरेको छ । प्रहरीकाे मात्रै सक्रियताले निषेधाज्ञा सफल पार्न गाह्राे हुने प्रहरी अधिकारीहरू बताउँछन् । यसमा सर्वसाधारण, व्यापारी, व्यवसायी लगायत सबैले सहयाेग गरेमा महामारी नियन्त्रण सजिलाे हुने अधिकारीहरूकाे भनाइ छ ।

सरकारले तीव्र रूपमा फैलिरहेकाे कोरोना भाइरसको दोस्रो भेरियन्ट रोकथामका लागि बैशाख १६ गतेबाट काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञाको समयमा अत्यावश्यक बाहेक अन्य कुनै सेवा संचालन गर्न पाइँदैन ।

खाद्यान्न किन्नका लागि बिहान ९ बजेसम्म मात्रै पसल खुला गर्न दिइएको छ । अत्यावश्यक कामै नपरे घरबाहिर निस्कन पाइँदैन । निषेधाज्ञाकाे नियमअनुसार नै सरकारी, गैरसरकारी सबै खाले कार्यलयले एक चौथाइ कर्मचारी मात्रै कार्यालयमा राखेर काम गरिहेका छन् । वित्तीय संस्थाहरुलाइ २० प्रतिशत मात्रै कर्मचारी राखेर कार्यलय संचालन अनुमति दिइएको छ । प्रायः घरबाटै अनलाइन माध्यमबाट काम गर्न र सेवा प्रवाह गर्नमा सरकारले जाेड दिएकाे छ ।