लाखौँ मूल्य पर्ने कृषि उपकरण त पुग्यो तर विद्युत् नहुँदा वर्षाैंदेखि प्रयोगहीन

लाखौँ मूल्य पर्ने कृषि उपकरण वर्षाैंदेखि प्रयोगहीन भएर मिल्किरहेको छ भन्ने सुन्दा तपाईंलाई कस्तो लाग्छ ? नेचा सल्यान गाउँपालिकामा वितरण गरिएको एउटा मेसिन तीन वर्षदेखि प्रयोगविहीन अवस्थामा मिल्किरहेको छ ।प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (अदुवा र बेसार) जोनले अनुदानमा वितरण गरेको बेसार पिस्ने, धुने, पखाल्ने, सुकाउने र तौलने उपकरण प्रयोगविहीन बनेको हो ।

परियोजनाको १६ लाख बजेटबाट पकेट क्षेत्रका पाँच समूहलाई उक्त मेसिन वितरण गरिएको थियो । ‘प्रत्येक समूहलाई वितरण गरिएका स–साना उपकरण प्रयोगमा आएका छन्,’ सञ्चारकर्मी डिल्ली शर्माले भने, ‘तर कृषकले सङ्कलन गरेर ल्याएको ठूलो परिमाणको कच्चा पदार्थ पिस्ने, सुकाउने, धुने र तौलने उपकरण भने विद्युत् अभावमा त्यत्तिकै थन्किएको छ ।’मेसिन सञ्चालन गर्नका लागि जेनेरेटर ल्याएको भए पनि विद्युत् सुविधा नपुगेको शर्माको भनाइ छ । स्थानीयस्तरमा उत्पादित बेसारलाई औद्योगीकरण गर्नका लागि २०७४ सालमै सो उपकरण वितरण गरिएको भए पनि अहिलेसम्म थन्किएर बसेको स्थानीय चित्रप्रसाद कट्टेलले बताए ।

जिल्लाको नेचा क्षेत्रलाई अदुवा, बेसार प्रशस्त मात्रामा उत्पादन हुने क्षेत्रको रूपमा लिइन्छ । प्रयोगविहीन अवस्थामा रहेको मेसिन खिया लागेर नचल्ने अवस्थामा पुगेको प्रत्यक्षदर्शीको भनाइ छ ।

बेतघारीका स्थानीय बालकृष्ण कट्टेलले बिना अध्ययन उपकरण वितरण गरिँदा कृषि क्षेत्रमा उल्लेखीय उपलब्धि नभएको बताए ।परियोजनाले १६ लाख बजेटबाट पकेट क्षेत्रका कृषक समूहलाई पाँच वटा जेनेरेटर, चार कटिङ मेसिन (स्लाइसर), एउटा सुकाउने मेसिन (सोलार ड्रायर), एउटा धुने र पिस्ने मेसिन र डिजिटल तौलिने मेसिन वितरण गरेको थियो ।

विद्युत् अभाव हुँदा उक्त उपकरण सञ्चालनमा ल्याउन कठिनाइ भएको तत्कालीन जोन सञ्चालक समितिका अध्यक्ष लोचनकुमार शर्माले बताए ।

पूर्वाधारलाई ध्यान नदिँदा उपकरण सञ्चालन गर्न नसकिएको समितिको भनाइ छ । नेपाल सरकारले कृषिमा प्रशस्त लगानी गरेको भए पनि सोचेको जस्तो परिणाम नआउनुको पछाडि बिनाअध्ययन कार्यक्रम निर्माण गर्नु नै रहेको स्थानीय अभिषेक बाँस्तोलाले बताए । कृषकको बिनालगानी प्राप्त उपकरण भएका कारण पनि सुरक्षित साथ नराखिँदा बिग्रने अवस्थामा पुगेको प्रत्यक्षदर्शीको भनाइ छ । रासस