लामो संघर्षबाट प्राप्त उपलब्धि गुम्ने खतरा बढ्यो : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लामो समयको संघर्षबाट प्राप्त उपलब्धि गुम्दै जाने खतरा पैदा भएको बताएका छन्।

जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले सामन्तवादका उपज सामाजिक कलंकका रुपमा रहेको जातीय भेदभाव तथा छुवाछुत हटउनुपर्ने बताएका छन्। सामुदायिक सहिष्णुता कायम राख्न यस्ता कुरीति हटाई अग्रगामी शक्तिबीच एकताबद्ध पहलकदमी आवश्यक रहेको उनले बताएका छन्।

मानिसले मानिसमाथि गर्ने भेदभाव र छुवाछुत २१औं शताब्दीको मानव समुदायका लागि लज्जाको विषय रहेको बताउँदै प्रचण्डले आजको विकसित समाजमा पनि जातीय भेदभाव र दलित समुदायमाथिका विभिन्न प्रकारबाट हिंसा भइरहेको बताएका छन्।

सामाजिक जागरण अभियान र कठोर कानुनी उपचारले मात्र यस्ता सामाजिक अपराध निर्मूल गर्न सकिने प्रचण्डको भनाइ छ। जातीय छुवाछुत, विभेद र हिंसासम्बन्धी संविधान र कानुनमा भएको व्यवस्था प्रभावकारी कार्यान्वयन गर्न राज्य संयन्त्रलाई निर्देशित गर्ने र जातीय हिंसा र छुवाछुत विरुद्ध जनचेतना लगायतका जागरणमूलक कार्यक्रम सञ्चालन गरिनुपर्ने उनको विज्ञप्तिमा उल्लेख छ।

स्थानीय तहसम्म निगरानी संयन्त्र बनाई जातीय भेदभाव तथा छुवाछुतको अन्त्य गर्ने कार्यमा जुट्नसमेत उनले अपील गरेका छन्।