सम्पूर्ण देशभक्त शक्तिहरू एक होऔं। प्रतिगमन र वैदेशिक हस्तक्षेपलाई परास्त गरौं :नारायणकाजी

संसद विघटनविरुद्ध आन्दोलनमा रहेको नेकपा प्रचण्ड नेपाल समूहले केही दिनअघि विदेशी गुहार्यो। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग छलफल गरेर प्रधानमन्त्री केपी ओलीविरुद्ध आफ्नो आन्दोलनमा समर्थन माग्यो । ओली सत्ता ढालेर आफू सत्तामा जान प्रचण्ड र माधव नेपालले विदेशीलाई सार्वजनिक आह्वान गरे । जसको चौतर्फी विरोध भयो । सत्ता र आन्दोलनका लागि विदेशी सहयोग समर्थन माग्नु राष्ट्रहित विपरित भएको भनेर विरोध भयो।

यसरी खुलेयाम अन्तर्राष्ट्रिय समर्थन चाहियो भन्दै भारत अमेरिका बेलायत चीनसँग समर्थन मागेको प्रचण्ड नेपाल समूहको पत्रकार सम्मेलनमा नारायणकाजी श्रेष्ठ पनि सहभागी थिए । श्रेष्ठ सो समूहका आन्दोलन कमाण्डर हुन्। आफै कमाण्डर रहेको आन्दोलनका लागि विदेशी समर्थन माग्ने तिनै नारायणकाजीले आज विदेशी हस्तक्षेप बढेको भनेर द्वैध चरित्र देखाएका छन्।

आफ्नो थुतुनोले आफ्नै नाक काटेका छन् अर्थात नैतिकता छाडेर द्वैध कुरा गरेका छन् । आफैं विदेशी गुहार्ने नारायणकाजी सरकारको विरोध गर्न अरु कुनै कुरा नभएपछि विदेशीलाई आमन्त्रण गरेको आरोप लगाएका छन् । इतिहासमा पहिलोपटक कालापानी लिम्पियाधुरा समेटेर नक्सा निकाल्ने राष्ट्रवादी सरकारलाई साइड लगाउन खुलेयाम विदेशी गुहार्ने समूहका नारायणकाजीले आफ्नै कुरा काट्नेगरी बोलेका छन्।

उनले वैदेशिक हस्तक्षेप बढ्दै गइरहेको तर्क गरेका छन् । हस्तक्षेप सरकारका कारण बढेको भनेका छन् । तर उनकै समूहले विदेशीसँग समर्थन मागेको तथ्य उनी बिर्सिएका छन्।

नारायणकाजीले बुधबार सामाजिक सञ्जालमा सत्तास्वार्थका कारण निरंकुश तत्वहरूबाट विदेशी शक्तिलाई आमन्त्रण गर्ने र तिनको आडमा अघि बढ्ने प्रवृत्तिको पुनरावृत्ति भैरहेको आरोप लगाएका छन्।

‘विदेशी शक्तिहरू कमजोर सत्ता र राजनीतिक अस्थिरताबाट कसरी आफ्नो स्वार्थ पूरा गर्न सकिन्छ भनेर सूक्ष्म व्यवस्थापनमा चासो दिँदै क्रमशः हस्तक्षेप बढाइरहेका छन्,’ उनले भनेका छन्, ‘सम्पूर्ण देशभक्त शक्तिहरू एक होऔं। प्रतिगमन र वैदेशिक हस्तक्षेपलाई परास्त गरौं। राष्ट्रिय स्वाधीनता र लोकतन्त्रको रक्षा गरौं।’