हिलोमै कालोपत्र गर्न खोजेपछि…

राइनास नगरपालिका–६ धमिलिकुवामा सडक कालोपत्र गर्ने भन्दै हिलोमै रोलर गुडाएपछि स्थानीयले विरोध जनाए । वडाका २४ जनाले हस्ताक्षर गरी मापदण्ड अनुरूप काम गर्न, गराउन वडाध्यक्ष रुकबहादुर तामाङ र नगरप्रमुख सिंहबहादुर थापालाई निवेदन दिए ।

राइनास नगरपालिका-६, धमिलिकुवा-सालफेदी-मंगलटार सडकको धमिलिकुवा उपल्लो चोकमा कालोपत्रको लागि ग्राभेल गर्ने क्रममा भएको हिलो ।
स्थानीय रवीन्द्र नखोलाका अनुसार हिलोमै रोलर गुडाएर कालोपत्रको तयारी गरेपछि विरोधमा उत्रिनु परेको हो । ‘ग्राभेल हाल्नुपर्नेमा माटो हालेर पेलियो । माटो पेल्दै जाँदा हिलो भयो । त्यही हिलो सुकेपछि कालोपत्र हाल्ने भनियो । यसरी त कालोपत्र हुँदैन भनेर विरोध गर्‍यौं, वडा र नगरप्रमुखलाई निवेदन बुझायौं,’ उनले भने । उपल्लो चोकमा हिलोमै रोलर गुडाएपछि स्थानीयले विरोध गरेका थिए ।

स्थानीयका अनुसार १ दशमलव ६ किलोमिटर कालोपत्र गर्नुपर्ने सडकको आधाभन्दा बढी भाग हिलम्य छ । ‘पानी अलिअलि पर्दै थियो । ग्राभेलको ढुंगागिट्टीभन्दा माटो धेरै हुँदा हिलो भएको हो,’ स्थानीय दिनेश चिलुवालले भने, ‘ग्राभल गर्नुपर्ने ठाउँमा माटोले भर्दै पेल्न थालेपछि यस्तो बाटो गुणस्तरीय हुँदैन भनी विरोध जनायौं ।’

धमिलिकुवा–सालफेदी–मंगलटार सडकको कालोपत्र ऋषि शक्ति–पराजुली कन्स्ट्रक्सन जेभी लमजुङले निर्माणको जिम्मा लिएको छ । सडक सहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन इकाई कास्कीले कालोपत्र गर्न लागेको हो । २०७६ भदौ १ मा सम्झौता गरी गत भदौ ३० मा सक्नुपर्ने सडक अहिलेसम्म कालोपत्र हुन सकेको छैन । कोरोनाका कारण ६ महिनासम्मको लागि म्याद थप गरिए पनि निर्माण कम्पनीले कालोपत्र सकेन ।

सडक भ्याट र कन्टिन्जेन्सीबाहेक ३ करोड ४१ लाख ३३ हजार ४१ रुपैयाँ लागतमा निर्माण हुन लागेको हो । सहरी विकास कार्यालयका इन्जिनियर सागर पोख्रेलका अनुसार १ दशमलव ६ किलोमिटर लम्बाइ र साढे ५ मिटर चौडाइको सडकको प्रि–मिक्स कार्पेट (पिच) का क्रममा समस्या देखिएको हो । ‘टेस्ट गरेर मात्रै ग्राभेल ल्याउन भनेका थियौं । पहिले ठिकै थियो । पछिल्लो २ टिपर ग्राभेलमा माटो बढी हुँदा हिलो भएको देखिएको छ,’ उनले भने । उनले माटोको मात्रा बढी हुँदा ५० मिटर जति सडकमा समस्या आएको बताए । माटो बढी देखिएको ठाउँमा क्यान्सिल गरेर ल्याब टेस्ट गरी अर्को ग्राभेल हाल्न भनिएको र अहिले हालिएकोलाई ल्याब टेस्ट गर्न पठाएको उनको भनाइ छ ।

वडाध्यक्ष रुकबहादुर तामाङले स्थानीय, जनप्रतिनिधि, सहरी विकास कार्यालयका इन्जिनियर, निर्माण कम्पनी बसेर मंगलबार सहमति गरिएको बताए । ‘अहिले समस्या देखिएको सडकमा सुधार गर्ने र गुणस्तरीय काम गर्ने विषयमा समझदारी भएको छ,’ उनले भने ।

उक्त सडकको निर्माण कार्य ७० देखि ८० प्रतिशत सकिएको इन्जिनियर पोख्रेलले बताए । निर्माण कम्पनी पराजुली कन्स्ट्रक्सन प्रालिका सञ्चालक सतीश पराजुलीले ग्राभेलका क्रममा केही समस्या आएको स्वीकार गरे । ‘झरी पर्दा ग्राभेल गर्ने क्रममा तल हुनुपर्ने माटो माथि र माथि हुनुपर्ने ढुंगागिट्टीको ग्राभेल तल भएछ । त्यसैले हिलो भयो,’ उनले भने । उनले ग्राभेलमा केही कमजोरी भएको र यसलाई सुधार्ने बताए ।